Logo

नेकपा विवादः शक्ति संघर्षका कारण पार्टी बैठक अन्योलमा



काठमाडौं,कार्तिक २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला पार्टी बैठक एवं छलफल अन्योलमा परेको छ ।

पार्टी भित्रको किचलोले पार्टी नै विभाजन हुने अवस्थामा पुगेपछि शिर्ष नेताहरु आ–आफ्नै रणनीति अनुसार अगाडी बढने प्रयासमा छन् । विवाद समाधानका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले चासो नदिएपछि विवाद पेचिलो बन्दै गईरहेको छ ।

प्रधानमन्त्री ओलीले अबसंगै बस्न नसकिने भन्दै छुटिन भन्ने कुरा गरेको दाहालले खुलासा गरेपछि पार्टी फुट नजिक पुगेको हो । तर पार्टीकै नेताहरुले एकतालाई जोगाउँनुपर्ने पक्षमा उभिएका छन् । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले समस्या समाधानका लागि अध्यक्षद्धय ओली र दाहाल बीचका साथै सचिवालय बैठकमा छलफल भए निकास निष्कने बताए ।

‘पार्टी भित्रको छलफल्, बहश र अन्तरसंघर्षलाई ब्यक्तिगत गालिगलौज र आरोप प्रत्यारोपको रुप नदिऔं । राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर बिचार, नीति र प्रबृत्तिमा आधारित भई स्वस्थ एवं रुपान्तरणमुखी छलफल गरौं’ श्रेष्ठले भने ।

प्रधानमन्त्री ओलीले अबसंगै बस्न नसकिने भन्दै छुटिन भन्ने कुरा गरेको दाहालले खुलासा गरेपछि पार्टी फुट नजिक पुगेको हो

स्थायी र सचिवालय कमिटीको निर्णय उल्लंघन गर्दै सहमती विपरित प्रधानमन्त्री ओलीले मन्त्री, राजदुत नियुक्ति गरेपछि अध्यक्ष दाहालसंगको दुरी बढेको छ । यसका साथै कर्णाली प्रदेश विवादमा देखिएको विवाद समाधान गर्नुको सटा अध्यक्षद्धय ओली र दाहालले फरक फरक निर्देशन गर्नुले विवाद उत्कर्षमा पुगेको हो ।

नेकपा पर्साका नेता महेश चौरसिया हत्याकाण्ड, प्रधानमन्त्री ओली र भारतीय गुप्चर संस्था रअ प्रमुख सामन्तकुमार गोयलसंगको गोप्य भेटघाटले समेत दुई अध्यक्षका बीचमा दुरी बढाउँने काम भएको नेकपा स्रोतको दावी छ । तर बालुवाटार स्रोतले प्रधानमन्त्री ओलीलाई दाहाल सहितका नेताले घेराबन्दी गर्न थालेकाले विवाद बढेको दावी गर्छ ।

अध्यक्षद्धय ओली र दाहालका बीचमा छलफल गराउँनका लागि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ सक्रिय भएका छन् । प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई टेलिफोन सम्बादमा ‘वान टु वान’ छलफलका लागि प्रस्ताव गरेको नेकपा स्रोतको दावी रहेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्