Logo

‘अविश्वासको प्रस्तावको सामना गर्न’ प्रधानमन्त्री ओली तयार



काठमाडौं, २० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव आए सामना गर्ने बताएका छन् । आज मन्त्रिपरिषद् बैठकमा उनले कुनैपनि बेला अविश्वासको प्रस्ताव आउनसक्ने भन्दै त्यसको सामना गरिने बताएका हुन् ।

प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै एक मन्त्रीले अविश्वासको प्रस्तावको तयारीहरुबारे आफूलाई जानकारी भएको समेत बताएका थिए । निकै कडा रुपमा प्रस्तुत भएका ओलीले जुनसुकै षड्यन्त्रलाई असफल पारिने समेत बताए ।

नेकपाभित्र दशैं अगाडि नै ओलीविरुद्ध अविश्वासको प्रस्तावको गृहकार्यको चर्चा थियो । विशेषगरी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल मिलेर अविश्वासको प्रस्ताव ल्याउन खोजेको विषय चर्चामा छ । आज बालुवाटारमा ओलीलाई भेट्न पुगेका प्रचण्डले पनि यस विषयबारे बोले । प्रचण्डले सचिवालय बैठक डाक्न र पार्टी पद्धति अनुसार चल्न भने । तर, ओली बैठक डाक्न तयार भएनन् ।

ओलीले भने आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन खोजिएको विषयतर्फ संकेत गर्दै बुधबार कुनै हालतमा राजीनामा नदिने अभिव्यक्ति दिए । उनले कोटेश्वर र खुमलटारतर्फ संकेत गर्दै विभिन्न खेलहरु भएको उल्लेख गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्