Logo

चुनावी माहोलका बीच अमेरिकामा कोरोना संक्रमण तीव्र, यूरोपको अवस्था अधिक खतरनाक



एजेन्सी, २१ कार्तिक। विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ९० लाख नाघिसकेको छ । संक्रमितमध्ये ३ करोड ४९ लाख भन्दा धेरै मानिसहरु ठीक भइसकेका छन् भने हालसम्म कोरोना संक्रमणका कारण १२ लाख ३८ हजार भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

अमेरिकामा कोरोना भाइरसको त्रास तीव्र रुपमा फैलिरहेको छ भने यूरोपमा दिनप्रतिदिन अवस्था खराब हुदैँ गइरहेको छ ।

चुनावी लहरका बीच अमेरिकामा कोरोना संक्रमणको मामला तीव्र रुपमा बढिरहेको छ । खबरका अनुसार, ८ दिनमा तेस्रो पटक संक्रमितको संख्या एक लाख नाघेको हो । बुधबार अमेरिकामा एक लाख १६ संक्रमित थपिए ।

चुनावी र्यालीको क्रम रोकिएको छ तर चुनावी माहोलको अवस्था जारी नै रहेको छ । यस क्रममा त्यहाँ भीडभाड त छदैँछ, मानिसहरुले मास्क लगाउन पनि छोडिसकेका छन् ।

डब्ल्यूएचओको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार, कोरोनाका कारण यूरोपको अवस्था बिग्रिरहेको छ भने यो अझै खतरनाक स्तरमा पुग्न लागेको छ। फ्रान्स, जर्मनी, स्पेन, बेल्जियम र इटालीमा कोरोनाको दोस्रो लहर घातक प्रमाणित भइरहेको छ ।

फ्रान्समा हरेक दिन ५० हजारभन्दा अधिक संक्रमणका घटना सार्वजनिक भइरहेका छन् । यसका अलावा जर्मनी र बेल्जियममा ३० हजारभन्दा अधिक संक्रमण देखिइरहेको छ ।-मेरोलगानी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्