काठमाडौं, २१ कात्तिक । कहिलेकाहीं ‘बाघ कराउनु र बाख्रा हराउनु एकैपटक’ हुनजान्छ । अहिले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र त्यस्तै भएको छ ।
भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयल काठमाडौं आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि नेकपाभित्र ठुलै तरंग आयो । नेकपाभित्र ओलीसँग केही नेताहरुले गम्भीर प्रश्न उठाए । ओलीले गोयललाई डाकेरै आएको विषय खुल्यो । उनले भारतको आफूलाई साथ रहेको सन्देश प्रवाह गर्न खोजे । तर, गोयल आएर गएपछि नेकपाभित्रको विवाद छताछुल्ल भयो । पार्टीभित्र ओली र प्रचण्डबीचको विवाद बाहिरै खुल्यो ।
यहीबीच भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौं आए । बुधबार उनी आउँदै गर्दा नेकपाभित्रको विवाद चुलीमा पुगेको थियो । शुक्रबार नरवणे दिल्ली फर्किए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे । नरवणे दिल्ली पुग्नेवित्तिकै नेकपाभित्र झन् झगडा बढ्यो । ओली र प्रचण्डबीचको विवादले पार्टी फुटाउने देखि अविश्वासको प्रस्तावको विषय समेत उठ्यो ।
नेपालको राजनीतिमा प्रभाव देखाउने भारतको गुप्तचर प्रमुख र सेनाप्रमुख काठमाडौं आउँदा र जाँदा सत्तामा समेत कम्पन आएको छ । यो संयोग नै भएपनि यसले राजनीतिमा ठुलो अर्थ राख्छ ।