Logo

गैँडाको फेरि चोरी सिकार



भरतपुर, कार्तिक २२ । गैँडा चोरी सिकारमा संलग्न रहेको अभियोगमा काराबास जीवन भुक्तान गरेका र तिनका परिवारलाई कसरी गैँडा संरक्षणमा जुटाउन सकिन्छ भनेर गत बुधबार चितवनको सौराहामा छलफल चलिरहेको थियो ।

छलफलमा काराबास भुक्तान गर्नेले गैँडा संरक्षणमा आफ्ना योजना सुनाइरहेका बेला चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराललाई खबर आयो “चोरी सिकारीले मारेको गैँडाको माउ र बच्चा (केटा) भेटियो ” पछिल्ला केही वर्षयता निकुञ्जले चोरी सिकार शूून्य वर्ष मनाउँदै आएको बेला यो वर्ष निरन्तर दुुखद खबर आएपछि संरक्षणकर्मी आत्तिएका छन् ।

“गलेर पोस्टमार्टम गर्न नसकिने अवस्थामा माउ र केटा एकै ठाउँमा मृत भेटिएका हुन्”, प्रमुख संरक्षण अधिकृत बरालले भने, “माउको खाग काटेर लगेकाले त्यो चोरी सिकारीले मारेकै हो भन्न कठिन भएन ” झन्डै तीन महिनाअघि ती माउ र बच्चा मारेको अनुमान निकुञ्जको छ । त्यो बेला निकुञ्जभित्र गोली चलेको थियो ।

निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने लखौनी क्षेत्रमा नेपाली सेनाको गस्ती टोलीले कुहिएको अवस्थाका ती गैँडा फेला पारेको हो । भर्खरै बच्चा जन्माएर सुत्केरी अवस्थामै रहेको गैँडाको माउ मारेपछि त्यो सानो बच्चा पनि मरेको हुनसक्ने निकुञ्ज सुरक्षाकर्मीको अनुमान छ । अघिल्लो दिन माउ र बच्चाको मृत शरीर व्यवस्थापन गर्न नपाउँदै निकुञ्जकै पश्चिमी क्षेत्रमा नै बिहीबार खागविहीन अवस्थामा थप गैँडाको अस्थिपञ्जर भेटियो ।

“त्यो गैँडा पाँच÷छ महिनाअघि मारेर फालेको हुनुपर्छ । खागविहीन अवस्थामा भेटिएको मृत गैँडाको हाडखोर मात्रै छ”, प्रमुख संरक्षण अधिकृत बरालले भने ।त्यसो त यसअघि भदौ तेस्रो साता पनि सोही क्षेत्रमा चोरी सिकारीले मारेको आशङ्कामा एक गैँडा भेटिएको थियो । मृत गैँडाको टाउको र ढाडमा चोट भएकाले चोरी सिकारीले नै गँैडा मारेको निकुञ्ज सुरक्षाकर्मीको भनाइ छ ।

यसरी पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जभित्र एकपछि अर्को गैँडा मार्न चोरी सिकारी सफल भएका छन् । साउन यता चालू आर्थिक वर्ष ०७७÷७८ मा भेटिएका १२ वटा मृत गैँडामध्ये चारवटा चोरी सिकारीले मारेको निकुञ्जसँग तथ्याङ्क छ ।

चितवन निकुञ्जमा चोरी सिकारीले विगत चार वर्षयता कुनै पनि गैँडा मार्न नसकेको बेला अहिले एक्कासि भटाभट गैँडा मारेर खाग लान सफल भएका छन् । २०७३ चैत यता चार निकुञ्जभित्र चोरी सिकारीले गैँडा मार्न सकेका थिएनन् । आर्थिक वर्ष ०७६÷७७ मा निकुञ्जमा २६ वटा गैँडा मरेकामा सबै कालगतिले मरेका आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्