Logo

फ्रान्समा एकै दिनमा ६० हजार जना कोरोना सङ्क्रमित थपिए



२२ कात्तिक: फ्रान्समा एकै दिनमा ६० हजार जनाभन्दा बढी व्यक्ति कोरोना सङ्क्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार त्यहाँ गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ६० हजार ४८४ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।

फ्रान्सको स्वास्थ्य मन्त्रालयले यो संख्या त्यहाँ कोभिड १९ को महामारी शुरु भएपछिको २४ घन्टामा देखिएको सबैभन्दा ठूलो सङ्क्रमित संख्या भएको बताएको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले फ्रान्समा र अझ बढी पेरिसमा कोभिडको संक्रमण दिन प्रतिदिन झनै ठूलो संख्यामा बढ्दै गएको बताएका छन् ।

अधिकारीहरुका अनुसार यस संक्रमणबाट फ्रान्समा बिहीबार ५८ हजारजना भन्दा बढी व्यक्ति सङ्क्रमित भएका थिए भने शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् ६० हजार जनाभन्दा बढी देखिएका हुन् ।

यो सँगै फ्रान्समा आजसम्ममा १६ लाख ६१ हजार ८५३ जना नागरिक सङ्क्रमित हुन पुगेका छन् । यहाँ गएको २४ घन्टामा ८२८ जनाको निधन भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
योसँगै फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पनि ३९ हजार नाघेको फ्रान्सको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार फ्रान्समा मृत्यु हुनेको संख्या शुक्रबारसम्म ३९ हजार ८६५ जना पुगेको छ । यहाँ गत हप्ता मात्र २० हजारभन्दा बढी सङ्क्रमित अस्पताल भर्ना भएका छन् । अधिकारीहरुले पछिल्लो समयमा फ्रान्समा कोरोना भाइरसको सङ्क्रमण निकै दु्रत गतिमा बढ्दै गएकोले थप सतर्कता अपनाउनुपर्ने बताएका छन् ।

त्यहाँ कोरोनाका सङ्क्रमितहरु बढ्दै गएपछि धेरै स्थानमा प्रतिबन्धहरु पनि लगाइएको छ । यसको त्यहाँका नागरिकले विरोध पनि गरिरहेका छन् । यसलाई यहाँका अधिकारीहरुले दोस्रो चरणको वेभ आएको हो कि भनेर पनि विश्लेषण गरिरहेका बताइएको छ । जसका कारण यहाँ स्वास्थ्य सतर्कतालाई अझ बढाइएको छ ।-एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्