काठमाडौं, २२ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पाँच जना सचिवालय सदस्यहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर तत्काल बैठक बोलाउन लिखित आग्रह गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ पुगेका थिए ।
नेताहरुले ओलीसमक्ष तत्काल पार्टी कमिटीका बैठकहरु राख्न लिखित रुपमै आग्रह गरेका थिए । तर, ओलीले भने यसबारेमा कुनै ठोस जवाफ नदिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । हिजोमात्रै, सचिवालयका पाँच जना नेताहरुको धुम्बाराहीमा अनौपचारिक बैठक बसेको थियो । सोही बैठकले पार्टी कमिटीका बैठकहरु बोलाउन ओलीसमक्ष सामूहिक रुपमै आग्रह गरिने निर्णय भएको थियो । र, आज सचिवालयका पाँचै जना नेताहरु ओली भेट्न बालुवाटार पुगेका हुन् । File Photo