Logo

ओलीविरुद्ध घेराबन्दी बढ्दै जाँदा संसदको अधिवेशन डाक्न माग



काठमाडौं, २२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्तावको चर्चा चलिरहँदा संसदको अधिवेशनको माग भएको छ । हिउँदे अधिवेशन डाक्न पूर्व सभामुखहरु देखि प्रमुख राजनीतिका नेताहरुले समेत माग गरेका छन् ।

नेकपाभित्रको विवादका कारण संसदको नियमित प्रक्रिया रोक्न नहुने भन्दै पूर्व सभामुख रामचन्द्र पौडेल, ओनसरि घर्तीले संसदको नियमित अधिवेशन बोलाउन आग्रह गरेका छन् । यसअघि राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पनि हिउँदै अधिवेशन डाक्नुपर्ने बताउँदै आएका छन् । उनले विगतमा विशेष अधिवेशनमा समेत जोड दिएका थिए ।

संसदको अधिवेशन सरकारको मन्त्रिपरिषद्ले निर्णय गरी राष्ट्रपतिसमक्ष सिफारिश गर्ने र सभामुखलाई पत्र लेखी डाकिने संवैधानिक व्यवस्था छ । नेकपाभित्रको विवादका कारण वर्षे अधिवेशन चाँडै समाप्त गरिएको थियो । हिउँदे अधिवेशन पनि तत्काल डाकिने सम्भावना कम देखिएको छ ।

नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने प्रयास भइरहेको छ । यसका लागि पार्टीबाट निर्णय गर्ने देखि आवश्यक परे संसदबाट अविश्वासको प्रस्ताव प्रस्तुत गर्ने विषय पनि उठिरहेको छ । ओलीविरोधी मोर्चा बलियो बन्दै गएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहित पाँचजना सचिवालय सदस्यले ओलीविरुद्ध कडा कदम चालेका छन् । उनीहरुले पार्टी बैठक डाकेर ओलीलाई हटाउन खोजेको चर्चा छ । त्यसैले ओलीले बैठक डाक्न मानेका छैनन् ।

प्रचण्डसहित पाँचजना सचिवालय सदस्यले ओलीलाई सामूहिक रुपमा भेटेर सचिवालय बैठक बोलाउन लिखित पत्र दिएका छन् । आज उनीहरुले उक्त पत्र दिएपनि ओलीले बैठक नडाक्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्