Logo

अस्तव्यस्त वीरगञ्ज आईसीपी



वीरगञ्ज, कार्तिक २४ । वीरगञ्ज नाकाबाट हुने आयातनिर्यात एकै बिन्दुबाट व्यवस्थापन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको एकीकृत जाँच चौकी (आईसीपी)का पूर्वाधार अपर्याप्त हुन थालेका छन् । वीरगञ्जको पुरानो इनर्वा नाकाबाट हुँदै आएको आयातनिर्यात आईसीपीमा केन्द्रित भएपछि आईसीपीको संरचना साँघुरो भएको छ ।

सरकारले आईसीपीको पूर्वाधार विस्तार गरी वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारलाई समेत गाभ्ने योजना राखेको थियो । आईसीपी र सुक्खा बन्दरगाहबीचमा पर्ने ६३ बिगाहा जग्गा अधिग्रहणको योजना ५ वर्षदेखि मन्त्रिपरिषद्को निर्णय पर्खिएर बसेको छ ।

जग्गाको मुआब्जा निर्धारण भइसक्दा पनि सरकारले अधिग्रहणको निर्णय नगर्दा प्रक्रिया अघि बढ्न सकेको छैन । इनर्वा नाकाबाट सिमेन्ट र फलाम उद्योगका केही कच्चा पदार्थ र पेटोलियम भित्रिए पनि अधिकांश आयातनिर्यात आईसीपतर्फ गइसकेको छ । तर, बन्दरगाह भन्सारलाई आईसीपीमा गाभ्ने सरकारी निर्णय अभैm कार्यान्वयनमा आएको छैन ।

सञ्चालनको ३ वर्षमै आईसीपीमा उपलब्ध संरचनाहरू साँघुरो भइसकेको नेपाल उद्योग वाणिज्य महासंघ यातायात तथा पारवहन समितिका अध्यक्ष अशोक टेमानी बताउँछन् । ‘हामीले आईसीपीको निर्माणताकै संरचना व्यावहारिक छैनन् भन्दै आएका थियौं । तर, सरकारले त्यतिबेला सरोकारका पक्षको कुरै सुनेन । अहिले पूर्ण क्षमतामा सञ्चालनमा नआउँदै आईसीपी अस्तव्यस्त बन्न थालिसक्यो,’ अध्यक्ष टेमानीले भने ।

आईसीपीमा पार्किङ, गोदाम, सेडलगायत अत्यावश्यक संरचना कमी भएको आयातकर्ताको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्