एजेन्सी, २४ कात्तिक । अमेरिकी औषधी कम्पनि फाइजरले कोरोना भाइरसविरुद्धको प्रभावकारी भ्याक्सिन ल्याउने निश्चित भएको छ । उसले भ्याक्सिन तेस्रो चरणको परीक्षणका क्रममा कोरोनाविरुद्ध निकै प्रभावकारी देखिएको दाबी गरेको छ ।
तेस्रो चरणमा हजारौं स्वयंसेवीमाथि प्रयोग गर्दा पहिलो डोज कोरोनाविरुद्ध आशा गरेभन्दा बढी प्रभावकारी देखिएको फाइजरको दाबी छ । उसले भ्याक्सिन ९० प्रतिशत प्रभावकारी रहेको बताएको छ ।
भ्याक्सिनको तेस्रो चरणको परीक्षणको दोस्रो डज दिएर नतिजा आएलगत्तै आकस्मिक प्रयोगको अनुमति मागिने फाइजरले जनाएको छ । तर, दोस्रो डज दिएको दुई महिनासम्म स्वयंसेवीहरुको निगरानी गरिनेछ ।
फाइजर भ्याक्सिनले अमेरिकी औषधी व्यवस्थापनसम्बन्धी निकायबाट अनुमती पाएमा कोरोना भाइरसविरुद्धको तेस्रो भ्याक्सिन हुनेछ । यसअघि रुसी भ्याक्सिनहरुले तेस्रो चरणको परीक्षण हुँदै गर्दा दर्ता अनुमती पाएका थिए ।
फाइजरले जर्मनीको साझेदार कम्पनि बायोनटेकसँग मिलेर कोरोना भाइरविरुद्धको भ्याक्सिन विकास गरिरहेको छ । उसले ४३ हजार स्वयंसेवीमा भ्याक्सिनको परीक्षण गरिसकेको छ ।
रुसी भ्याक्सिन स्पुतनिक भी आकस्मिक प्रयोगमा आइसकेको छ । यसको सर्वसाधारणमा प्रयोगको अन्तिम तयारी भइरहेको छ ।
चिनियाँ भ्याक्सिन पनि आकस्मिक प्रयोगमा ल्याइसकिएको छ । चीनका तीनवटा कम्पनि भ्याक्सिनको परीक्षणको अन्तिम चरणमा छन् ।
यसबाहेक अक्सफोर्ड भ्याक्सिन पनि यसै वर्ष प्रयोगमा ल्याइने बताइएको छ । विश्वका एक सय ५० भन्दा बढी कोरोनाविरुद्धका भ्याक्सिन विकासको क्रममा छन् । त्यसमध्ये रुस, अमेरिका, चीन र बेलायतका कम्पनि भ्याक्सिन विकासको अन्तिम चरणमा छन् । तर, तिनको प्रभावकारिताबारे विकासका क्रममा नै प्रश्न उठ्ने गरेको छ ।