काठमाडौं, २७ कात्तिक । आर्थिक अभावमा एक वर्षीय रियान महराको टाउकोको शल्यक्रिया रोकिएको छ । टाउकोमा पानी जमेर नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचाररत कञ्चनपुर कृष्णपुर नगरपालिका ९ राजघाटका रियानका आमाबाबुले खर्चको व्यवस्था गर्न नसकेपछि शल्यक्रिया रोकिएको हो ।
तीन चरणको शल्यक्रिया गर्नुपर्नेमा रियानको दुई चरणको शल्यक्रिया सफलता भइसकेको छ । तेस्रो चरणको शल्यक्रिया सफल भएमा उनी सामान्य अवस्थामा फर्कने चिकित्सकको भनाई छ । तर, बिहिबार विहानका लागि तय भएको शल्यक्रिया खर्च व्यवस्था नहुँदा शुक्रबारका लागि सारिएको छ ।
रियानका बाबु टेकबहादुर महरा र आमा दीपा महराले बुधबार रातिसम्म खर्चको व्यवस्था गर्न प्रयास गर्दा असफल भएका थिए । उनीहरुले यसअघि रियानको उपचारका लागि सात लाख भन्दा बढी नेपालगञ्जको निजी अस्पतालमा खर्च भएको र कोहलपुरमा डेढ लाख खर्च भएको बताए । त्यहाँ रियानको शल्यक्रिया बिगारिदिएपछि महरा दम्पत्ति काठमडौं आएका थिए ।
काठमाडौं मेडिकल कलेजमा दुई हप्ता उपचारपछि रियाको अवस्था सुध्रिएको छ । तर, मजदूरी गरेर जिविकोपार्जन गर्ने महरा दम्पत्ति खर्च जुटाउन नसक्दा चिन्तामा छन् । उनीहरुले सहयोगको आव्हान समेत गरेका छन् । सहयोगका लागि दीपा महराको मोबाइल नम्बर ९८०६४७६४८६ र टेकबहादुर महराको नम्बर ९८२४५६७१९७ सम्पर्क गर्न सकिनेछ । सहयोगका लागि दीपा रोकायाको राष्ट्रिय वाणिज्य बैकको खाता नम्बर ४२१०१००००२१९२०१० मा रकम जम्मा गर्न सकिनेछ । उनीहरु दुई हप्तायता जोरपाटीस्थित अस्पतालको आइसीयुको विरामी कुरुवा कोठामा छन् ।