Logo

नागरिकता वितरणमा ‘टोकन प्रणाली’ प्रभावकारी बन्दै



कर्णाली, २७ कात्तिक: जिल्ला प्रशासन कार्यालय जुम्लाले शुरु गरेको नागरिकता वितरणमा ‘टोकन प्रणाली’ पछिल्लो समय निकै प्रभाकारी बन्दै गएको छ । सेवाग्राहीको भिड कम गर्न र पालैपालो काम गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय जुम्लाले दुई महिनाअघि शुरु गरेको ‘टोकन प्रणाली’ को प्रभावकारिता बढ्न थालेको हो ।

सबै सेवाग्रहीको अधिकार समान भएकोले सरकारी काममा जो पहिला आउँछ सोहीअनुसार अनिवार्य सेवा प्रवाह गर्न ‘टोकन प्रणाली’ कार्यान्वयनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए । “सेवाग्राहीहरुले सम्पूर्ण प्रमाणहरु जुटाएपछि नागरिकता फाँटले एउटा टोकन दिन्छ । त्यो टोकनको आधारमा जो कोही पनि सेवाग्राहीले पालो कुरेर सेवा लिने गर्दा यो प्रणाली प्रभावकारी बनेको छ”, प्रजिअ थापाले भने, “यसले भिड कम र काममा पारदर्शिता ल्याएको छ ।” कोरोनाबाट बच्न, बचाउन, ठेलमठेल हुन नदिन, पहुँचवालाहरु र नागरिकता बनाउनै पनि लाइन उछिन्ने प्रवृतिसमेत निरुत्साहित भएको उनले बताए ।

सेवाग्राहीलाई समान सेवाको अनभूति गराउन यो पद्धति शुरु गरिएको भन्दै प्रजिअ थापाले यो कामले कार्यालय र सेवाग्राही दुवैलाई सजिलो भएको र जनस्तरमा पनि सकारात्मक प्रभाव परेको बताए । उनले भने, “अहिले टोकन विधि प्रभावकारी बन्न थालेको छ । टोकन हातमा परेपछि सेवाग्रहीहरु ढुक्क हुन्छन् ।”

जिल्ला प्रशासन कार्यालय जुम्लामा नागरिकताका लागि आएका स्थानीय परिमल रावतले पहिलेभन्दा अहिले नागरिकता लिन सजिलो भएको प्रतिक्रिया दिए । टोकन प्रणालीले पहुँचवाला जतिकै आवाजविहीनहरुलाई बढी सहयोग पुर्याएको उनको भनाइ थियो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्