Logo

बाँकेमा आकर्षक फनपार्क सञ्चालनमा



राँझा, २७ कात्तिक: बाँकेको कोहलपुरमा आकर्षक फनपार्क सञ्चालनमा आएको छ ।

कोहलपुर नगरपालिका–१४ हवलदारपुरमा रु ३५ करोड लागतमा निर्माण गरिएको ह्याप्पी वल्र्ड फनपार्क सोमबारदेखि सञ्चालनमा आएको हो । कोरोना भाइरस सङ्क्रमण जोखिमका बीच स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड अपनाएर फनपार्क सञ्चालनमा ल्याइएको ह्याप्पी वल्र्ड फनपार्कका सञ्चालक बासु भण्डारीले जानकारी दिए ।

उनका अनुसार फनपार्कमा स्काई साइक्लिङ्ग, जिपप्ले, बुल राईड, जाइन्ट सिरिङ्ग, वाल क्लाम्बिङ्ग र बालबालिकाहरुका लागि बञ्जिलगायत अन्य सुविधाहरु समेत उपलब्ध गराइएको छ । त्यस्तै फनपार्कमा वाटर फन, रेष्टुरेण्ट, ब्याङ्केट र स्वीमिङ्ग पुललगायत सुविधा उपलब्ध रहेको पनि उनले बताए ।

नेपालगञ्ज–कोहलपुर सडकसँग जोडिएको हवल्दारपुरस्थित साढे तीन विघा क्षेत्रफलमा फैलिएको यो फनपार्क सञ्चालनमा ल्याएपछि दर्शकहरुको उत्साहजनक उपस्थिति भइरहेको सञ्चालक भण्डारीको भनाइ छ ।

नेपालगञ्जकै भवनीयापुरस्थित बालेगाउँमा नेपालमै पहिलो स्काई साइक्लिङ्ग सुविधा भएको मेरो प्लानेट पार्क सञ्चालनमा आएको छ । स्काई साइक्लिङ्गसँगै वाल क्लाइम्बिङ्ग, जिप लाईन, स्विमिङ्ग, रेइन डान्सजस्ता साहसिक खेलको प्याकेजसहितको सुविधा विस्तार गरेर मेरो प्लानेट पार्क सञ्चालनमा आएको सञ्चालक पशुपतिदयाल मिश्राले बताए । उनका अनुसार, मेरो प्लानेट पार्कमा ४ स्वीमिङ पुलमा एक पटकमा २ हजार ५ सय जनाले वाटर फनको आनन्द लिन सक्ने छन् ।

गर्मीमा पौडी खेल्दै रमाउने उपाय खोजिरहेका नेपालगञ्ज क्षेत्रका बासिन्दाहरुलाई लक्षित गरेर ठूलो लगानीमा वाटर फन पार्कसहित सुविधा सम्पन्न मनोरञ्जनस्थल सञ्चालनमा ल्याइएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोट हुँदै भारतीय पर्यटक कैलाश मानसरोवरको यात्रामा निस्किएका भारतीय पर्यटकलाई लक्षित गरेर मनोरन्जन पार्क निर्माण गरिएको जानकारी दिँदै सञ्चालक मिश्रााले भने, “कोरोना महामारीका कारण अहिलेको कठिन समय हटेसँगै व्यापार व्यवसाय फस्टाउने आशमा हामी छौँ ।”

नेपालगञ्ज उपमहानगरपालिका–२० मा पनि एउटा फनपार्क निर्माणका क्रममा रहेको छ । बाँकेमा पछिल्लो समय सञ्चालनमा आएका फनपार्कले मनोरञ्जनका साथै रोजगारीका लागि युवालाई अवसर सिर्जना गरि पर्यटन विकासमा सहयोग पु¥याएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्