Logo

नेकपा विवादः आ–आफ्नै रणनीतिमा ओली र दाहाल–नेपाल समूह



काठमाडौं, कार्तिक २८ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला आज शुक्रबार सचिवालय बैठक बस्दै छ । नेकपा महासचिव विष्णु पौडेलले शुक्रबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा सचिवालय बैठक बस्न लागेको बताए । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको सहमतिमै बैठक बस्न लागेको उनले बताए ।

नेकपा अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठसहितको बहुमत सचिवालय सदस्यहरूले बैठक माग गर्दै आएका थिए ।

गत २२ कातिकमा लिखित रूपमै बहुमत सचिवालय सदस्यहरूले बैठकका लागि प्रधानमन्त्री ओलीलाई आग्रह गर्दा उनले अस्वीकार गरेका थिए । त्यसपछि २५ कात्तिकमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई भेटेरै बैठकका लागि पुनः आग्रह गर्दा समेत ओलीले अस्वीकार गरेका थिए ।

यसअघि बहुमत सचिवालयका सदस्यले अनौपचारिक बैठक बसेर पछिल्लो राजनीतिबारे छलफल गर्नुपर्ने बताउँदै आएका छन् । तर, प्रधानमन्त्रीले बैठकका लागि सहमति नजनाएपछि बहुमत सचिवालय सदस्यहरूले बिहीबार औपचारिक बैठक गर्ने निष्कर्षमा पुगेका बेला अन्ततः प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

नेकपाभित्र स्थायी र सचिवालय कमिटीको निर्णय कार्यान्वयन, मन्त्रिपरिषद पुनर्गठन, राजदूत नियुक्ति, कर्णाली प्रदेश, पर्साका नेता महेश चौरसिया हत्याकाण्ड, प्रधानमन्त्री ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलसँगको गोप्य भेटघाटलगायतका विषयमा अध्यक्षद्वय ओली र दाहाल–नेपाल समूहबीच मतभेद बढ्दै गएपछि विवाद चर्किएको छ ।

पार्टीभित्रको किचलोले पार्टी नै विभाजन हुने अवस्थामा पुगेपछि शीर्ष नेताहरू आ–आफ्नै रणनीतिअनुसार अगाडि बढ्ने प्रयाससमेत यसबीचमा भएको थियो । दुवै समूहले आन्तरिक गृहकार्यका साथै छुट्टाछुट्टै गुटगत बैठक, भेला तथा सभा गर्न थालेपछि विवाद थप उत्कर्षमा पुगेको आजको राजधानी दैनिकमा खवर छ ।

 



प्रतिक्रिया दिनुहोस्