काठमाडौं, २८ कार्तिक । नेकपाका (माले) का महासचवि सिपी मैनालीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादलाई दुःखद् अवस्थाको संज्ञा दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महासचिव मैनालीले भने,यो बडो दुःखद् हो । कम्युनिष्ट नामधारी पार्टीले जुन ढंगले सत्ता, भागबण्डा, र फाईदाको निम्ति झगडा गरिरहेको छ, र अर्कोपट्टी देश र जनताको समस्याहरु चाहीँ त्यत्तिकै असरल्ल परेका छन् । यो देख्नुपर्दा बडो दुःख लाग्छ । यो हुँदै नहुनुपर्ने विषय हो । यो सामान्य विवाद हुँदै पार्टी नै फुट्छ कि भन्ने तहमा पुगेर पनि फर्केर आएको ईतिहास छ । दुई जना नेता, अध्यक्षबीचको झगडाले अहिले नेकपा समस्यामा परेको छ। सरकार नै असरल्लमा परेको स्थिति छ । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको चुनावी गठबन्धन र पछि एकता विल्कुल यी स्वार्थ र भागबण्डाको लागि भएका थिए । दुवै घट्ना न्यूनतम राजनीतिक सहमतिमा थिएनन् ।”
अध्यक्षद्धय ओली र दाहालमा को दोषी ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा मैनालीले उनीहरुबीचको विवाद भागबण्डाकै लागि भएको देखिएको तर्क गरे । पार्टी सामूहिक ढंगले पार्टी र सरकार सञ्चालन भएन भनेर बाहिर भनिएपनि भित्री रुपमा सत्ताकै लागि झगडा भएको उनको टिप्पणी छ ।