Logo

ओलीद्वारा वामदेवलाई बालुवाटार डाकी महत्वपूर्ण प्रस्ताव



काठमाडौं, ३० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतलाई बालुवाटारमा बोलाएर छलफल गरेका छन् । आज मध्यान्ह भएको दुई नेताबीचको भेटमा नेकपाभित्रको पछिल्लो विवाद समाधान गर्नेबारे छलफल भएको छ ।

ओलीले गौतमलाई बोलाएर पार्टी विवाद समाधानमा महत्वपूर्ण भूमिका खेल्न आग्रह गरेका थिए । उनले विरोधी मोर्चाका नेताहरुलाई सहमतिमा ल्याउन भूमिका खेल्न भनेका थिए । भेटमा ओलीले गौतमलाई सरकारमा सहभागी हुन समेत आग्रह गरेको बुझिएको छ । विशेषगरी पूर्व एमालेबीचको एकता देखि सहमति बनाएर जाने विषयमा समेत छलफल भएको थियो ।

गौतमले पार्टीमा उठेको विवादबारे समिक्षा गर्नुपर्नेमा जोड दिएका थिए । विश्वस्त स्रोतका अनुसार गौतमले ओलीलाई आत्मालोचना गरेर गल्ती र व्यवहार सुधार्न सुझाव दिएका थिए । उनले समस्या ओलीमै रहेको र समाधान पनि त्यहींबाट खोजिनुपर्नेमा जोड दिएको बुझिएको छ ।

नेकपाभित्र ओलीविरोधी मोर्चा मजबुत हुँदै कडा कदम चाल्ने तयारीमा पुग्दा गौतमलाई बालुवाटारमा भेटका लागि बोलाइएको हो । यसअघि गत हप्ता ओलीनिकटस्थ नेताहरु विष्णु पौडेल र शंकर पोखरेल भैसेपाटी पुगेर गौतमलाई महत्वपूर्ण प्रस्ताव राखेका थिए । तर, गौतमले अस्वीकार गरेका थिए ।

गौतमलाई सरकारमा उपप्रधानमन्त्रीसहित अर्थ या गृह दिएर आफ्नो पक्षमा पार्न ओली सक्रिय भएका छन् । आजको भेटलाई यही अर्थमा बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्