Logo

यूरोपमा कोरोना कहर बढ्दै गर्दा विश्वभर ५ करोड ४८ लाख संक्रमित



काठमाडौं, १ मंसिर । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ५ करोड ४८ लाख पुगेको छ । पछिल्लो तथ्यांक अनुसार १३ लाख २४ हजारको मृत्यु भएको छ । यूरोपमा कोरोना संक्रमित र मृतक संख्या ह्वात्तै बढ्न थालेको छ ।

विश्वभर ३ करोड ८१ लाख कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् । एक करोड ५३ लाख सक्रिय संक्रमित छन् ।

सबैभन्दा बढी अमेरिकामा एक करोड १३ लाख कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये २ लाख ५१ हजारको मृत्यु भइसकेको छ ।

भारतमा ८८ लाख ४५ हजार संक्रमितमध्ये एक लाख ३० हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ५८ लाख ६३ हजार संक्रमितमध्ये एक लाख ६५ हजारको मृत्यु भएको छ ।

यूरोपमा कोरोना भाइरसको महामारी बढेको छ । यो जाडो मौसमा यूरोपमा कोरोनाको कहर डरलाग्दो हुने संकेत देखिएको छ ।

यूरोपका देशहरुले संक्रमित र मृतक संख्यामा अन्य देशहरुलाई धमाधम उछिन्न थालेका छन् । फ्रान्समा १९ लाख ८१ हजार संक्रमित संख्यामध्ये ४४ हजारको मृत्यु भइसकेको छ ।

रुसमा १९ लाख २५ हजार संक्रमितमध्ये ३३ हजारको मृत्यु भएको छ । स्पेनमा १४ लाख ९२ हजार संक्रमितमध्ये ४० हजारको मृत्यु भइसकेको छ । बेलायतमा १३ लाख ६९ कोरोना संक्रमितमध्ये ५१ हजारको मृत्यु भएको छ । इटालीमा ११ लाख ७८ हजार संक्रमितमध्ये ४५ हजारको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांक अनुसार नेपालमा २ लाख ९ हजार ७ सय ७६ जना कोरोना संक्रमितमध्ये १२ सय २१ को मृत्यु भएको छ । नेपालमा संक्रमितहरु टेष्टमा नआउने र रोग लुकाउने गरेबाट कहर बढ्दै गएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढ्दै गएपनि कतिपय जानकारीमा आउन छाडेको छ ।



प्रतिक्रिया दिनुहोस्