काठमाडौं, मंसिर ४ । अर्थ मन्त्रालयका अनुसार पछिल्लो समय कोरोनाका कारण परिस्थिति असहज हुँदा करको दायरा विस्तारमा समस्या निम्तिएको छ ।
त्यसको प्रभाव स्वरूप गतवर्षको तुलनामा चालू वर्षको पहिलो त्रैमासमा स्थायी लेखा नम्बर लिने करदाताको संख्या करीब ७३ प्रतिशतले घटेको देखिन्छ ।
त्यस्तै मूल्य अभिवृद्धि करमा ५१ दशमलव ४ प्रतिशत र अन्तःशुल्कमा दर्ता हुनेको संख्या ५६ प्रतिशतले घटेको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पहिलो त्रैमाससम्ममा स्थायी लेखा नम्बर लिने करदाताको संख्या ३५ लाख ३३ हजार पुगेको छ ।
सोमध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या १४ लाख १९ हजार छ । व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको संख्या २१ लाख ७ हजार छ । यस्तै, अन्तःशुल्कमा दर्ता हुनेको संख्या १ लाख ९१ हजार रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।