५ मंसिर: चुनावी मतगणनालाई थप विश्वसनीय बनाउने भन्दै अमेरिकाको जोर्जिया राज्यमा दोहोर्याएर गरिएको मतगणनामा फेरि पनि राष्ट्रपतिमा डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनामा धाँधली भएको आरोप लगाएपछि त्यहाँ हातैले दोहोर्याएर मतगणना गरिएको हो ।
बाइडेनले यस जितसँगै राज्यबाट १६ निर्वाचक प्रतिनिधि (इलेक्टोरल मत) प्राप्त गरेका छन् ।
बाइडेनले पेन्सिल्भेनिया, मिचिगन र विस्कन्सिन राज्यमा विजयी भएसँगै गत नोभेम्बर ७ मै अनौपचारिक रुपमा विजयी घोषणा गरिएको छ, र जोर्जियाको मत पश्चात बाइडेनले ३०६ इलेक्टोरल मत प्राप्त गरेका छन् । राष्ट्रपति ट्रम्पको भने २३२ मत छ ।
अमेरिकाको राष्ट्रपतिमा विजयी हुन २७० मत आवश्यक हुन्छ ।
सन् २०१६ मा जोर्जियामा डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनको भन्दा ट्रम्पले ५ प्रतिशत बढी मत ल्याएर विजयी भएका थिए ।
तर यस वर्षको चुनावमा डेमोक्रेट पार्टीले जोर्जिया राज्यमा निकै बढी ध्यान दिएको थियो ।
जोर्जियाका सिनेटका दुबै पदमा यसपटक चुनाव भएको थियो तर दुबै पार्टीका उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेपछि आगामी जनवरीमा पुनः चुनाव हुँदैछ ।
जोर्जियामा सन् १९९२ पछि पहिलो पटक डेमोक्रेट उम्मेदवार बाइडेन विजयी भएका हुन् । सन् १९९२ मा त्यहाँबाट बिल क्लिन्टनले विजय हासिल गरेका थिए ।–एपी/Photo: Agency