काठमाडौंं, ५ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानको लागि महासचिव विष्णु प्रसाद पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आज कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । महासचिव पौडेल र उपनेता नेम्वाङले आज अध्यक्ष दाहालसँग पार्टी मुख्यालय धुम्बाराहीमा बेग्लाबेग्लै भेटवार्ता गरेका छन् ।
दुवै नेताले अध्यक्ष दाहालसँग यसअघि सचिवालय बैठकमा पेश गरेको १ढ पृष्ठ लामो राजनीतिक प्रतिवेदन फिर्ता लिएर संयुक्त प्रस्ताव पेश गर्न आग्रह गरेका थिए । उनीहरुले अध्यक्ष दाहाललाई दुवै अध्यक्ष मिलेर अघि बढ्नुको विकल्प नभएको भन्दै त्यतातर्फ प्रयास गर्न सुझाएका थिए ।
जवाफमा दाहालले आफू एकताको पक्षमा दृढ रहेको भन्दै अहिले नै एकताको डोरी नचुँडिएको जिकिर गरेका थिए । र, सोहीअनुसार भूमिका खेल्न पौडेल र नेम्वाङलाई आग्रहसमेत गरेका थिए । नेकपा सचिवालय बैठक यही मंसिर १३ गते तय भएको छ । त्यस्तै, स्थायी कमिटी मंसिर १८ र केन्द्रीय कमिटी बैठक भने मंसिर २५ गते तोकिएको छ ।