एजेन्सी, ५ मंसिर । अमेरिकी कम्पनि फाइजरले कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रयोगको अनुमति मागेको छ । कम्पनिले आज अमेरिकाको खाद्य तथा औषधी प्रशासनसँग भ्याक्सिनलाई अनुमति प्रदान गर्न निवेदन दर्ता गरेको हो ।
टाइम म्यागाजिनका अनुसार फाइजरका कार्यकारी निर्देशक समेत रहेका अध्यक्ष अलबर्ट बुरलाले आकस्मिक प्रयोग गरिहाल्ने हेतुले क्लियरेन्सको निवेदन दर्ता गरिएको जनाएका छन् । यो कम्पनि अमेरिकामा यस्तो अनुमतिका लागि निवेदन दिने पहिलो कम्पनि हो । एफडीएले अनुमति प्रदान गरेमा भ्याक्सिन केही घन्टाभित्रै तयार हुने र आकस्मिक रुपमा प्रयोगमा ल्याइने बताइएको छ ।
फाइजरले यो वर्षभित्र ५ करोड डज भ्याक्सिन उत्पादन गरिसक्ने लक्ष्य लिएको छ । अर्को वर्षको अन्तसम्ममा एक अर्ब ३० करोड डज उत्पादन गर्ने लक्ष्य लिएको बोरलाले बताएका छन् ।
यसअघि फाइजरले भ्याक्सिनको तेस्रो चरणको परीक्षणबाट समेत ९० प्रतिशतभन्दा बढी प्रभावकारी पत्ता लागेको दाबी गरेको थियो ।
अमेरिकामा फाइजरका अलावा मोर्डनाले पनि भ्याक्सिनको विकास गरिरहेको छ । मोर्डना पनि अन्तिम चरणमा पुगेको छ ।