Logo

पाँचदिन झुलाघाट नाका खोलिने



बैतडी, ६ मङ्सिर: भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खोलिने भएको छ । नेपाली नागरिकलाई भारतीय पेन्सन बुझ्न समस्या भएपछि सो नाका पाँच दिनका लागि खोलिन लागिएको हो ।

यही मङ्सिर ८ गते सोमबारदेखि १२ गते शुक्रबारसम्म नाका खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । उनले भने, “ नेपाली नागरिकलाई भारतीय पेन्सन बुझ्नका लागि सजिलो होस् भनेर पाँच दिनका लागि नाका खोल्न लागेका हौँ ।” जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खुल्न लागेको होे । कोरोनाका कारण सीमा नाका बन्द भएपछि नेपालीले लामो समयदेखि पेन्सन बुझ्न पाएका छैनन् । यसअघि पनि तीन दिनका लागि नाका खोलिएको भए पनि सबैले पेन्सन बुझ्न पाएका थिएनन् ।

नाका खुलेको समयमा पेन्सनधारी नागरिकका साथै अत्यावश्यक र आकस्मिक काम परेकालेसमेत आवतजावत गर्न पाउने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए । उनले भने, “खास गरेर पेन्सनधारीको पेन्सन बुझ्नका लागि नाका खुल्ने हो, अत्यावश्यक कामको लागि अरुलाई पनि आवतजावत गर्न दिइन्छ ।”

जिल्लामा एक हजार २०० बढी भारतीय पेन्सनधारी नागरिक रहेका बताइएको छ । नाकामा पेन्सनधारीले आवतजावत गर्दा स्वास्थ्य सुरक्षा सतर्कताका सबै मापदण्ड परिपालना गर्नुपर्ने प्रशासनले जनाएको छ । पेन्सनधारी नागरिकले दुई महिनाअघि नाका खोल्न आग्रह गरेका थिए । उनीहरुको अनुरोधमै नाका खोलिन लागिएको हो । उनीहरुले पेन्सनबापतको पैसा भारतीय बैंकमार्फत् बुझ्ने गरेका छन् ।-रासस



प्रतिक्रिया दिनुहोस्