एजेन्सी, ८ मंसिर । कमेडियन तथा अभिनेता कृष्णा अभिषेक अहिले मामा गोविन्दासँग आफ्नो सम्बन्धमा दरार आएपछि चर्चामा छन् । भर्खरै मात्र कृष्णा अभिषेकले कपिल शर्माको शोको एक एपिसोडमा कमेडी गर्न अस्विकार गरेका थिए, गोविन्दा उक्त शो को पाहुना थिए ।
गोविन्दाले यस बारेमा आफ्नो प्रतिक्रिया दिएका छन् । उनले कृष्णा अभिषेक र आफुबीच आएको विवादको समाचारले आफु दुखी भएको बताएका छन् । उनले भनेका छन, कुनै समयमा सत्य कुरा बाहिर आउँछ । गोविन्दाले कृष्णाले आफुमाथि जुम्ल्याहा बच्चा हेर्न नगएको गलत तरिकाले आरोप लगाएको जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘म आफ्नो परिवारको साथमा अस्पतालमा बच्चा हेर्न पुगेको थिए, डाक्टर र नर्ससँग कुरा भयो । नर्सले मलाई बच्चाको आमा कश्मीरा शाहले परिवारका सदस्य कोही पनि आएर सरोगेट बच्चालाई हेर्न नचाहेको बताइन् । तैपनि मैले बच्चालाई टाढाबाट हेर्न नर्ससँग आग्रह गर्दा पनि अनुमति नदिएपछि भारी मनले फर्किएको हो ।’
यो कुरा कृष्णलाई थाहा छैन भन्दै गोविन्दाले कृष्ण र आरती सिंह घरमा आउँदा पनि यो कुरा उल्लेख गर्न बिर्सीएको बताएका छन् । कृष्णा अभिषेकले एक अन्तरवार्ताको क्रममा गोविन्दासँगको विवादको बारेमा खुलेर कुरा गरेका थिए । साथमा गोविन्दासँग एपिसोड नगरेको पनि कारण स्पष्ट पार्दै कृष्णाले भने, कमेडी गर्नलाई सकरात्मक वातावरणमा काम गर्नुपर्छ । जब सम्बन्ध राम्रो हुन्छ तब हासो आउँछ । उनीहरु दुईजना नातेदार हुन् ।
गोविन्दा र कृष्णकोबीचको सम्बन्ध नराम्रो भएको २०१८ मा बाहिर आएको थियो । कृष्णाको पत्नीले ट्विटमार्फत गोविन्दालाई कटाक्ष गरेकी थिइन् । त्यसपछि दुई परिवारबीचको सम्बन्धमा सुधार आएको छैन् ।