एजेन्सी, ८ मंसिर । साउदी अरबले इजरायललाई देशका रुपमा मान्यता दिएको छैन । उसले पेलिस्टाइनको समस्या समाधान नभएसम्म इजरायलसँग कुनै कुटनीतिक सम्बन्ध नराख्ने अरब लिगको अडानलाई साथ दिदै आएको छ । तर, यसपटक एउटा विवादास्पद खबर आएको छ जसले साउदी अरबको अडानमा परिवर्तन ल्याउने संकेत मिल्छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आइतबार गोप्य रुपमा साउदी अरब पुगेको खुलासा भएको छ । इजरायली मिडियाले उनी आइतबार साउदी राजकुमार मोहम्मद विन सलमानसँग भेटका लागि पुगेको खुलाएको हो । उक्त खबरलाई नेतान्याहुको लिकुड दलका र नेतान्याहुको मन्त्रिपरिषदका सदस्यले समेत पुष्टि गर्दै गजबको प्राप्ती भनेका छन् ।
नेतान्याहु र सलमानलाई मिलाउन अमेरिकी विदेशमन्त्री माइक पम्पिओले भूमिका खेलेको चर्चा छ । उनले मध्यस्थकर्ताको भूमिका निभाए । यसअघि पम्पिओले इजरायलको युएई, बहराइन, सुडानलगायत कतिपय मुस्लिम देशहरुसँग कुटनीतिक सम्बन्ध स्थापित गर्न मध्यस्थकर्ताको भूमिका निभाएका थिए ।
यसैगरी, नेतान्याहु र सलमानको गोप्य भेटको खबरलाई साउदी अरबले भने खण्डन गरेको छ । साउदी विदेशमन्त्री फैसल विन फरहान अल साउदले त्यस्तो कुनै भेट नभएको बताएका छन् । उनले आइतबार ट्वीट गर्दै यस्तो खण्डन गरेका हुन् ।