काठमाडौं, ९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्तालाइृ लिएर अतिरञ्जन गर्न नहुने स्पष्ट पारेका छन् । उनले दुई नेताबीच के के कुराकानी भएको हो ? भन्नेबारे यथार्थ सार्वजनिक गरिदिएको भए धेरै राम्रो हुने थियो भन्ने धारणा राखेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीसँग सभापति देउवाले प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतमा भेटेको विषयलाई आश्चर्यको रुपमा लिन नहुने धारणा राखे । उनले भेटवार्ता हुन स्वभाविक भए पनि उक्त भेटवार्तामा के के कुरा भए भन्नेबारे यथार्थ बाहिर आउनुपर्ने बताए । नेता केसीले अहिले कांग्रेस सरकारमा जानु भनेको आत्महत्या गरेरसरह हुनेपनि टिप्पणी गरे । नेपाली जनताले आफूहरुलाई पाँच वर्षको लागि प्रमुख प्रतिपक्षीको भूमिका दिएकोले सोहीअनुसार कांग्रेसको भूमिका हुनुपर्ने आफ्नो दृष्टिकोण पनि केसीले सुनाए ।