Logo

कोरोनाविरुद्धको ‘स्पुतनिक भी भ्याक्सिन २० डलरभन्दा सस्तो, रुसी नागरिकलाई निःशुल्क’



एजेन्सी, ९ मंसिर । कोरोना भाइरसविरुद्धको रुसी भ्याक्सिन स्पुतनिक भी अन्तर्राष्ट्रिय बजारमा २० डलरभन्दा कम मूल्य पर्ने भएको छ । रुसी नागरिकका लागि भने भ्याक्सिन निःशुल्क लगाइनेछ ।

स्पुतनिक भीको आधिकारिक ट्वीटर एकाउन्टमा प्रति व्यक्ति अन्तर्राष्ट्रिय बजारमा भ्याक्सिनको मूल्य २० डलरभन्दा कम पर्ने जानकारी दिइएको छ । भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी रहेको दाबी यसअघि नै गरिएको छ ।

रुसमा विकास गरिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन अमेरिकामा उत्पादित भ्याक्सिनभन्दा सस्तो पर्ने यसअघि नै जनाइएको थियो । अमेरिकामा उत्पादित भ्याक्सिन भन्दा सस्तो र प्रभावकारी दाबी गरिएको स्पुतनिक भीलाई रुसले सामरिक महत्वको मानेको छ । उसले मित्रशक्तिलाई भ्याक्सिन उपलब्ध गराउने रणनीति समेत बनाएको छ ।

भ्याक्सिन मोर्डना र फाइजर कम्पनिको भ्याक्सिनभन्दा सस्तो पर्ने जनाइएको छ । फाइजरको भ्याक्सिन दुई डजको ३७ डलर र मोर्डनाको ७४ डलर पर्न जाने समेत स्पुतनिक भीको एकाउन्टमा उल्लेख गरिएको छ ।

कोरोना भाइरसविरुद्धको भ्याक्सिन रुस, अमेरिका, बेलायत र चीनले विकास गरिसकेका छन् । जसमध्ये रुस र चीनले यसको प्रयोग आकस्मिक रुपमा गर्न थालिसकेका छन् । अब कोरोनाविरुद्धको भ्याक्सिनले शक्तिराष्ट्रहरुको शक्तिमा समेत फरक ल्याउने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्