काठमाडौं, मंसिर १० । सरकारले सार्वजनिक निकायको खर्चमा व्यापक कटौती गर्दै नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सो मापदण्ड स्वीकृत गरी सोमबारदेखि कार्यान्वयनमा ल्याएको हो । यो मापदण्ड लागु भएसँगै अब सरकारका विभिन्न निकायले गर्दै आएका फजुल खर्चमा समेत अंकुश लाग्ने भएको छ ।
‘सरकारको खर्च कटौती मापदण्ड–२०७७’ सोमबार राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ । यस मापदण्ड कार्यान्वयनमा आएसँगै संघ, प्रदेश र स्थानीय तहअन्तर्गतका सबै सार्वजनिक निकायले अब यही मापदण्डका आधारमा आफ्नो खर्चमा मितव्ययिता अपनाउनुपर्नेछ । भर्खरै कार्यान्वयनमा आएको यस मापदण्डअनुसार विभिन्न सात उपायद्वारा खर्चमा कटौती गरिनेछ ।
जसअनुसार अब बजेट विनियोजन र खर्चमा मितव्ययिता कायम हुनेछ भने वैदेशिक भ्रमण, भत्ता तथा अन्य सुविधा, सवारी साधनको खरिद तथा सञ्चालन र सम्पत्ति तथा खरिद व्यवस्थापनमा समेत अंकुश लागेको छ । यस्तै, अनावश्यक संगठन संरचना निर्माण र पदपूर्तिमा समेत बन्देज लागेको छ ।
मन्त्रिपरिषद् कार्यालयबाट स्वीकृत भएको यस कार्यविधिमा सार्वजनिक निकायले वार्षिक बजेटमार्फत स्वीकृत कार्यक्रमबाहेक थप व्ययभार हुने गरी खर्च गर्न नपाउने व्यवस्था गरिएको छ । यदि त्यसरी खर्च गर्नैपर्ने भएमा अर्थ मन्त्रालयसँग सहमति लिएर मात्रै खर्च गर्नुपर्ने उल्लेख छ । यसैगरी, स्रोतको सुनिश्चित नभई कुनै पनि आर्थिक दायित्व सिर्जना गर्न पाइनेछैन ।
सार्वजनिक निकायका तर्फबाट हुने कार्यालय सामान, पानी, बिजुली, इन्धन तथा मसलन्द खर्चमा मितव्ययिता अपनाउनुपर्ने, सार्वजनिक निकायले गर्दै आएका वार्षिक प्रतिवेदनलगायतका प्रकाशन कानुनले अनिवार्य गरेको अवस्थामा बाहेक छपाइ गर्न पाइनेछैन । अब सार्वजनिक निकायले त्यस्ता प्रतिवेदन अनलाइनमा मात्र प्रकाशन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, विभिन्न तहका सरकारबीच सहलगानीमा सञ्चालित आयोजनाबाहेक दोहोरो परेका आयोजना रोक्का राख्ने, सार्वजनिक निकायले अनावश्यक फर्निचर खरिद गर्न नपाउने, भवनको सजावट गर्दा सहरी विकास मन्त्रालयको मापदण्डमा रहेर मात्रै गर्नुपर्ने तथा मापदण्ड नबनेसम्म त्यस्तो खर्च गर्नै नपाइने उल्लेख गरिएको आजको राजधानी दैनिकमा खवर छ ।