Logo

हर्षवर्धन र वेईको भ्रमण : औपचारिक मात्रै कि उपलब्धी पनि ?



मंसिर १०, काठमाण्डौ । छिमेकी राष्ट्र चीन र भारतबाट नेपालमा उच्च स्तरीय भ्रमण हुने भएको छ । दुईदिने औपचारिक भ्रमणका लागि भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला भोलि काठमाडौँ आउँदैछन् ।

त्यसैगरी उत्तरी छिमेकी चीनका रक्षा मन्त्री वेइ फेङ्गहे मंसिर १४ गते काठमाडौं आउने भएका छन् । नेपालको दक्षिण छिमेकी भारतसँग सम्बन्ध चिसिएको बेला फेङहे काठमाडौं उत्रिने पहिलो उच्च चिनियाँ अधिकारी हुनेछन् ।

गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण गरेका थिए । त्यसपछि चीनबाट नेपालमा उच्चस्तरको राजनीतिक भ्रमण भएको थिएन ।

छिमेकी देशसँगको सम्बन्धमा पछिल्लो चिसोपन बढेको भनेर सरकारको आलोचना भइरहँदा भारत र चीनबाट उच्चस्तरीय भ्रमण हुन लागेको हो । भ्रमणले दुबै छिमेकी राष्ट्रसँग नेपालको सम्बन्ध अझ मजबुत हुने अपेक्षा गरिएको छ ।

वर्तमान सरकारको कारण छिमेकी देशसँगको सम्बन्ध बिग्रेको भन्नेसम्मको आरोप सत्तापक्ष भित्रैबाट लागिरहँदा भारतीय विदेश सचिव र चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण हुन लागेको हो । यसले छिमेकी देशसँगको सम्बन्ध बिग्रन नदिन सरकारले सन्तुलित वातावरण बनाइरहेको छ भन्ने नै देखिएको छ । केही समय अघि भारतीय गुप्तचर संस्था रअका प्रमुख र भारतीय स्थल सेनाको प्रमुखले नेपालको भ्रमण गर्दा र उच्चस्तरीय भेटघाट हुँदा अनेक नकारात्मक अडकलबाजी र टिप्पणी भएको थियो ।

त्यतिबेला भएका नकारात्मक टिप्पणीलाई चिर्ने गरी दक्षिणी छिमेकी देश भारतबाट विदेश सचिव हर्षवद्र्धन श्रृंगला भोलि नेपाल आउँदैछन् भने उत्तरी छिमेकी देश चीनबाट रक्षामन्त्रीले १४ गते नेपालको भ्रमण गर्ने तयारी भएको छ । सत्तारुढ दल नेकपा भित्रको विवाद बढिरहेको बेला चिनियाँ राजदूतको सक्रियता बढ्नु र चीनका उच्चस्तरीय नेताबाटै नेपालको भ्रमण हुनु सकारात्मक र अर्थपूर्ण भएको परराष्ट्रविदहरु बताउँछन् ।

चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर समेत रहेका वेई फेङ्हेबाट हुने एक दिने नेपाल भ्रमणको क्रममा उच्चस्तरीय राजनीतिक भेटघाट हुनेछ । चिनियाँ रक्षामन्त्री बेईजिङबाट मंसिर १४ गते काठमाडौं आउने कार्यक्रम छ । त्यही दिन उच्चस्तरीय भेटघाट हुनेछ । रक्षा मन्त्रीको समेत कार्यभार प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हाल्नु भएकोले चिनियाँ रक्षामन्त्रीले प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति र नेपाली सेनाका प्रधान सेनापतिसँग पनि भेटघाट हुनेछ । भेटघाट सकेर चिनियाँ रक्षामन्त्री काठमाडौंबाट सिधै बंगलादेशको राजधानी ढाका जाने र ढाकाको कार्यक्रम सकेर पाकिस्तानको राजधानी इस्लामावाद जाने कार्यक्रम छ । इस्लामावादबाट भने चिनियाँ रक्षामन्त्री बेइजिङ फर्कने कार्यक्रम रहेको छ । नेपालको एक दिने भ्रमण भए पनि नेपाल चीन दौत्य सम्बन्धको ६५ वर्ष पुगेको सन्दर्भमा यो भ्रमण हुन लागेकोले दुई देशको लागि महत्वपूर्ण र अर्थपूर्ण मानिएको छ ।

उच्चस्तरीय भेटघाटका क्रममा दुई देशको सम्बन्ध र सहयोगबारे छलफल त हुने नै छ । केही समय अघि नेपाल चीन सीमा विवादको विषय जबर्जस्ती उठाइएको विषयले पनि चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

हुम्लामा नेपाली भूमि मिचेर चीनले भवन बनाएको विषय उठेको थियो । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले यसलाई उठाएको हो । यद्यपी नेपाल सरकारले होइन भनेर स्पष्ट पारिसकेको छ भने नेपाल स्थिति चिनियाँ दूतावासले पनि सीमा मिचिएको भन्ने समाचार सत्य नभएको भनेर स्पष्ट पारिसकेको छ । समाचारकै कारण उत्पन्न भ्रमलाई चिर्न पनि चिनियाँ रक्षामन्त्रीको भ्रमण फलदायी नै हुनेछ ।

भ्रमणमा हुने छलफल र सम्झौताका विषयहरुमा नेपालले बडो सुझबुझपन देखाउन जरुरी छ । नेपालले अंगीकार गर्दै आएको पञ्चशीलका आधारमा परराष्ट्र नीति र सम्बन्ध स्पष्ट पार्न सक्नु पर्नेछ । एक देशलाई खुशी पार्न अर्काे देशसँग नजिक हुन खोज्ने प्रवृत्तिलाई हटाउनु पर्छ ।



प्रतिक्रिया दिनुहोस्