Logo

रेमिटेन्सले सजिलोमा सरकार



काठमाडौं, मंसिर ११ । कोभिड–१९ का कारण विश्वभर अर्थतन्त्रमा समस्या आएका बेला नेपालमा रेमिटेन्स आयमा देखिएको सुधारले सरकारलाई सजिलो बनाएको छ । कोभिडका कारण रेमिटेन्स आय घटेर समस्या आउने अनुमान गरिए पनि उल्टै साढे १२ प्रतिशतको वृद्धिले सरकारलाई खर्च बढाउन सजिलो बनाएको हो । विश्वभर कोभिड समस्या देखिएपछि रेमिटेन्स आय कम्तीमा १५ प्रतिशतले घट्ने सर्वत्र अनुमान थियो ।

राष्ट्र बैंकका अनुसार यो वर्षको तीन महिना (साउन–असोज) मा रेमिटेन्स २ खर्ब ५८ अर्ब ८६ करोड रूपैयाँ भित्रिएको छ । यो १२।६ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्ष यो समयमा रेमिटेन्स ५.१ प्रतिशतले घटेको थियो । रेमिटेन्समा आएको सुधारका कारण शोधनान्तर स्थिति, विदेशी विनिमय सञ्चिति, चालु खातालगायत बाह्य क्षेत्रको स्थायित्वमा सरकारलाई कुनै समस्या देखिएको छैन । चालु आवको तीन महिनामा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ९ करोडले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ५५ करोड अमेरिकी डलर छ । यस्तै चालु खाता ३४ अर्ब ३६ करोड रूपैयाँले बचतमा छ । अघिल्लो वर्ष बाह्य क्षेत्रमा धेरै समस्या थिए । पूर्वअर्थमन्त्री युवराज खतिवडाले त्यसबेला बाह्य क्षेत्रमा भएको समस्यालाई श्वेतपत्रमा राखेर मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको दाबी गरेका थिए ।

सरकारको पछिल्लो तथ्यांकअनुसार मुलुकको ५६ प्रतिशत घरधुरी रेमिटेन्ससँग जोडिएको छ । कोभिडका कारण रेमिटेन्स आय घटे यति ठूलो जनसंख्यामा समस्या आउने र गरिबी अझै वृद्धि हुने अनुमान गरिएको थियो । तर रेमिटेन्स आय निरन्तर बढिरहेका कारण गरिबीमा चाप परेको छैन ।

अहिले सरकारसँग पर्याप्त मात्रामा विदेशी मुद्रा रहेकाले बजेटमा गरिएका वाचा पूरा गर्न कुनै समस्या देखिँदैन । बजेटरी खर्च गर्दा आयात बढ्ने र त्यसको भुक्तानीका लागि विदेशी मुद्रा अभाव हुन्छ कि भन्ने समस्या यो वर्षलाई हुनेछैन ।

राष्ट्रबैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले रेमिटेन्सले बाह्य क्षेत्रको स्थायित्वको ग्यारेन्टी गरेका कारण सरकारलाई चालु वर्ष खर्च बढाउन समस्या नहुने बताएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्