काठमाडौं, मंसिर १२ । सेयर बजारमा बिहीबार सबैजसो प्रमुख सूचकले यसअघिका रेकर्ड तोडेका छन्। यसअघि १८८१ अंकको रेकर्ड बनाएको नेप्से सूचक बिहीबार बजार बन्द हुँदासम्म १८९३ अंक नाघेको छ। यसै दिन अन्तरदिवसीय व्यापारमा सूचक १९२६ अंकभन्दा माथि पुग्यो।
यस्तै सेयरको कारोबार रकम र संख्यामा पनि नयाँ रेकर्ड बनेको छ। नेप्सेमा बिहीबार ७ अर्ब ६१ करोड ३० लाख ३० हजार रुपैयाँको सेयर किनबेच भयो। यो हालसम्मकै उच्च कारोबार हो। त्यस्तै नेप्सेको बजार पुँजीकरण पनि अहिलेसम्मकै उच्च भएको छ। बिहीबार नेपाली सेयर बजारको आकार २५ खर्ब ३७ अर्ब ४४ करोडभन्दा बढी भयो। सर्वसाधारण लगानीकर्ताको स्वामित्वमा रहेको सेयरको मात्र बजार पुँजीकरण पनि ८ खर्ब ७३ अर्ब ५३ करोड ५२ लाख नाघ्यो। यी दुवै नयाँ कीर्तिमानी आँकडा हुन्।
कुल गार्हस्थ उत्पादन ९जीडीपी०सँगको अनुपातमा सेयर बजारको आकार दुई तिहाइभन्दा ठूलो भएको छ। केन्द्रीय तथ्यांक विभागले गत वर्षको जीडीपी ३७ खर्ब ६७ अर्ब ४ करोड रहेको उल्लेख गरेको छ। जीडीपीको अनुपातमा सेयरको कुल बजार पँुजीकरण ६७ प्रतिशत र फ्लोट बजार पँुजीकरण २३ प्रतिशत छ।
त्यस्तै नेप्सेमा बिहीबार एकै दिन ७० हजार पटक सेयर किनबेच भयो। यति धेरै कारोबार यसअघि कहिल्यै भएको थिएन। यसदिन १ करोड ७१ लाख ८८ हजार कित्ता सेयर किनबेच भएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।