काठमाडौं, १३ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एक घण्टा लामो भाषण गरेका छन् । बैठकमा सहभागी एक सचिवालय सदस्यले दिएको जानकारीअनुसार अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अधिकांश समय अर्का अध्यक्ष पुष्पकमल दाहालमाथि आक्रोश पोखेका थिए । ती नेताले रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा भने,‘अध्यक्ष कमरेड ओलीले एक घण्टा बोल्नुभयो । उहाँले अधिकांश समय अर्का अध्यक्षमाथि आक्रोश पोख्नुभयो ।’
तर, जवाफमा अध्यक्ष दाहालले आफूले जे देखेको हो ती कुरालाई समावेश गरेर राजनीतिक प्रस्ताव ल्याएको भन्दै त्यसलाई अन्यथा लिन नहुने धारणा राखेका थिए । उनले आफूले राखेका कुराहरु के÷कति ठिक वा बेठिक छन् ? भन्नेबारे छलफल गरेर टुँगोमा पुग्नुपर्ने बताएका थिए । आजको बैठकमा अध्यक्षद्धयसँगै वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले बोलेका थिए । नेता खनालले पार्टीलाई विधिपूर्वक चलाउने कुरामा जोड दिएका थिए । खनालले अहिले नै पार्टी फुटको संघारमा पुगेको भनेर कसैले पनि सोच्न नहुने बताएका थिए ।
उनको भनाई उद्धृत गर्दै ती नेताले भने,‘पार्टी फुटको संघारमा पुगेको भनेर अहिले कसैले पनि सोच्नुहुँदैन् । यो त अन्तरसंघर्ष हो, यसलाई विधिपूर्वक छलफल गरेर टुँगोमा पुर्याउनुपर्छ । दुई जना अध्यक्षले सहमति गरेर बैठक बोलाउने नीति बनाउनुभयो । त्यो खाली तपाईहरुले आवश्यकत्ता ठानेर गर्नुभयो । तर, उहिलेदेखि नै पार्टी त विधि र सिद्धान्तअनुसार चल्ने हो । ती आधारभूत सिद्धान्तमा हामी फर्कनुपर्छ । त्यसै आधारमा हामी फर्कनुपर्छ ।’
दाहाल–नेपाल समूहका सचिवालयका पाँचै जना सदस्यहरु एक ढिक्का भएका छन् । उनीहरुले सचिवालय बैठकमा पेश भएका अध्यक्षद्धय ओली र दाहालको प्रस्तावमाथि समय लिएर छलफल गर्ने धारणा राखेका छन् । दाहाल–नेपालनिकट एक सचिवालय सदस्यले भने,‘अध्यक्ष कमरेड ओलीजीले आज ल्याउनुभएको प्रस्ताव के हो ? यसमा के के कुरा समावेश छन् ? भन्नेबारे हामी अध्ययन गर्छौं । मजासँग छलफल गर्छौं । एउटा स्पिरिटमा पुग्नुपर्छ ।’वरिष्ठ नेता नेपालले बैठकमा उठेका सबै विषयमाथि छलफल हुनुपर्ने र राम्ररी अध्ययन गरौं र विश्लेषण गरेर टुँगोमा पुर्याऔं भन्ने धारणा राखेका थिए । नेता गौतमले पनि बैठकमा प्रस्तुत प्रस्तावमाथि गहन छलफल गरेर एउटा निश्कर्षमा पुग्नुपर्नेमा जोड दिएका थिए ।