Logo

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण : उपलब्धी के ?



मंसिर १४, काठमाण्डौ । नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठको अवसर पारेर चिनियाँ रक्षामन्त्री नेपाल आए । उनको भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । झन्डै एक वर्षपछि चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण भएको हो । एक वर्षको अवधिमा दुई देशबीच भूमी विवादले स्थान पायो । दुई देशबीचको सम्बन्ध सुधार र विवादित विषय टुङ्गो लगाउनका लागि यो भ्रमण फलदायी हुने विश्वास परराष्ट्र मामलाका जानकारहरुले लिएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१९ को अक्टोबरको दोस्रो हप्ता नेपालको भ्रमण गरेयता कुनै पनि उच्च चिनियाँ अधिकारी नेपाल आएका थिएनन् । करिब एक वर्षको अन्तरमा नेपाल आएका चिनियाँ रक्षामन्त्री वेई राष्ट्रपति सीका नजिकका पात्र मानिन्छन् । त्यसैले पनि उनको भ्रमणलाई महत्वका साथ हेरिएको छ । उनको भ्रमण यसअर्थमा पनि महत्वपूर्ण मानिएको छ कि भारतीय विदेश सचिब हर्षबर्धन श्रृंगलाको भ्रमणलगत्तै रक्षामन्त्री आएका छन् ।

 

चीनसँगका सम्झौता कार्यान्वयन प्रक्रियामा छ : प्रधानमन्त्री ओली

एसियाकै उदयमान राष्ट्र चिन र भारत बिच भएको टकरावको कारण पनि यस्ता उच्च स्तरका भ्रमणले महत्व पाएको चिनका लागि पुर्व राजदुत टंक कार्कीको भनाई छ । नेपालको भुराजनैतिक तथा भुरणनैतिक महत्वले ठुलो स्थान पाएको कार्कीको भनाई छ । साथै नेपाल संग सुमधुर सम्वन्ध कायम राख्न पनि यस्तो भ्रमण महत्वपुर्ण हुने उनको बुझाई छ । तर यसरी नेपालमा एक पछि अर्कोको भ्रमणका क्रममा नेपालले गरेको विदेश निती, आदर्श र मुल्यमान्यतामा नेपाल अडीग हुनुपर्ने कार्की बताउँछन् ।

एक दिने नेपाल भ्रमणमा आउनुभएका चिनियाँ रक्षामन्त्री वेई फेङहे आजै साँझ स्वदेश फर्किएका छन् । नेपाल भ्रमणका क्रममा वेई सुरुमा चिनियाँ राजदूतावासमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका थियो । त्यस लगतै उनी सैनिक मुख्यालय जंगी अड्डामा पुगेर नेपाली सेनाबाट गार्ड अफ अनरको सम्मान ग्रहण गरेका थिए ।

रक्षामन्त्री वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता समेत गरे । जंगी अड्डाको भेटघाट सकिएपछि वेई प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री केपी ओलीसंग शिष्चाटार भेटवार्ता गरेका थिए । त्यसलगतै शितल निवास पुगि राष्ट्रपति बिद्यादेवी भण्डारीसंग शिष्टाचार भेटवार्ता गरेका थिए ।

नेपाल उनले उच्चस्तरीय भेट गरे पनि केके कुरा भयो भन्ने अहिलेसम्म खुलेको छैन । रक्षामन्त्रीको भ्रमणका बेला विगतमा नेपाल चीनबीच भएका सम्झौता कार्यान्वयनमा जोड दिनुपर्ने कार्कीको तर्क छ । दुई देशबीचको सम्बन्धका लागि नयाँ एजेण्डा आवश्यक नरहेको उनको ठहर छ ।

चीनले नेपालको भूभाग अतिक्रमण गरेको आरोप लागेका बेला मन्त्रीको भ्रमण भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको एक अध्ययनले चिनले नेपालको हुम्लामा जमिन अतिक्रमण गरेर भौतिक संरचना निर्माण गरेको दावी गरेको छ । तर कांग्रेसको दावीलाई चिन र नेपाल सरकारले गलत भनेको छ । अर्कातिर पछिल्ला केही वर्षमा नेपालको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चीनको कम्युनिस्ट पार्टीबीचको निकटता निकै बढेको छ । यस्तो अवस्थामा रक्षामन्त्रीको भ्रमणले के नतिजा दिन्छ त्यो भने हेर्न बाँकी नै छ ।।



प्रतिक्रिया दिनुहोस्