Logo

गार्मेन्ट उद्योग अझै समस्यामा



काठमाडौं,मंसिर १९ । कोरोना महामारीका कारण लामो समयदेखि थला परेको गार्मेन्ट उद्योगको अवस्था अझैसम्म पनि सुधार हुन सकेको छैन । महामारीको प्रभावका कारण गार्मेन्ट उद्योगको उत्पादन क्षमतामा ह्रास आएको छ भने निर्यातमा देखिएका समस्याहरूमा पनि कुनै सुधारका संकेतहरू देखापरेका छैनन् ।

यसअघि महामारीको प्रभाव कम गर्न सरकारले अन्तरराष्ट्रिय उडानहरूमा प्रतिबन्ध लगाउँदा गार्मेन्ट उद्योगी तथा व्यवसायीहरूले करीब ४ गुना बढी भाडा तिरेरै भए पनि सामानहरू निर्यात गरिरहेका थिए । हालसम्म पनि यो अवस्थामा कुनै सुधार नभएकाले आफूहरू निकै मारमा परिरहेको उद्यमीहरू बताउँछन् ।

भदौ, असोजमा जाडो मौसमका लागि महँगो भाडादरमा कपडा निर्यात गरेका व्यवसायीहरू गर्मीका लागि कपडा पठाउँदा भाडादर घट्ने आशामा थिए । तर, समस्या अहिलेसम्म जस्ताको तस्तै छ । गार्मेन्ट उद्योगहरूले यतिबेला गर्मी मौसमका लागि चाहिने कपडा उत्पादन गरेर निर्यात गर्दै छन् ।

गार्मेन्ट एशोसिएशन अफ नेपालका महासचिव अशोक अग्रवालले महँगो भाडादरका कारण उद्यमीहरूले निर्यातमा निकै समस्या भोग्नु परेको बताए । सामान्य अवस्थामा निर्यातकर्ता व्यवसायीहरूले भारतको कोलकाता बन्दगाह हुँदै समुद्री मार्गबाट गार्मेन्ट उत्पादनहरू विदेशतिर निर्यात गर्ने गदर्थे ।

तर, कोरोना महामारीका कारण सीमानाकामा गरिएको कडाइ लामो समयदेखि यथावत् छ । जसले गर्दा समुद्री मार्गमार्फत सामान पठाउन सकिएको छैन ।

आयातका लागि नाकामा कडाइ नभए पनि निर्यातका लागि भने कडाइ नै रहेको व्यवसायीहरू बताउँछन् ।

त्यसैले आजभोलि व्यवसायीहरू कुरियरबाट सामान निर्यात गर्न बाध्य रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्