काठमाडौं, मंसिर १९। राष्ट्रिय परीक्षा बोर्डले नयाँ शैक्षिक सत्रको कक्षा १२ को अन्तिम परीक्षाको लागि फाराम भर्नुअघिसम्म कक्षा ११ को विद्यार्थीको नतिजा पठाउन सम्बद्ध विद्यालयहरूलाई निर्देशन गरेको छ ।
त्यसअघि विद्यालयले आफ्नो आन्तरिक कार्यतालिका अनुसार परीक्षा गर्न सक्नेछन् । पुरानो शैक्षिक सत्रको कक्षा १२ को परीक्षा झण्डै आठ महिनापछि भएकाले नयाँ शैक्षिक सत्रको व्यवस्थापनका लागि यस्तो गृहकार्य गरिएको हो ।
बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षाको अन्तिम फाराम भर्नुअघिसम्म कक्षा ११ को परीक्षा लिएर नतिजा प्रकाशनको काम विद्यालयहरूले सक्नुपर्ने कार्यतालिका रहेको बताए।
कक्षा १२ को परीक्षा फाराम हाल खुलेको छैन । भर्खरै बोर्डले स्थगित अवस्थामा रहेको यसअघिको कक्षा १२ को परीक्षा भने लिई सकेको छ । यस विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसित छलफल गरिने आजको गोरखापत्र दैनिकमा खवर छ ।