काठमाडौं, २० मंसिर । राजावादीहरुले आज राजधानीमा शक्ति प्रदर्शन गर्दैछन् । राजसंस्था र हिन्दुराष्ट्रको मागसहित देशभर दैनिकजसो प्रदर्शन गर्दै आएका राजावादीले आज माइतीघरमा शक्ति प्रदर्शनको तयारी गरेका हुन् ।
राजावादीको प्रदर्शन रोक्न स्थानीय प्रशासनले कारबाहीको चेतावनीसहित सुरक्षाकर्मी परिचालन गरेको छ । माइतीघरमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यसअघि १५ मंसिरमा राजावादीले माइतीघरमा प्रदर्शन गरेका थिए । उनीहरुले देशका प्रमुख शहरहरुमा शक्ति प्रदर्शन गरिसकेका छन् ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराष्ट्र र राजसंस्थाको मागसहित झापामा आज प्रदर्शन गर्दैछ । झापा प्रतिनिधिसभामा राप्रपाका एकमात्र सांसद राजेन्द्र लिङ्देनको गृहजिल्ला पनि हो । झापा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि गृहजिल्ला हो ।
हिजो राप्रपाले मकवानपुरमा प्रदर्शन गरेको थियो । प्रदर्शनपछि राप्रपा अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमा भनेका थिए, ‘हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापना तथा भ्रष्टाचार, बेरोजगार, धर्मपरिवर्तनको विरुद्धमा अब हुने राष्ट्रवादी आन्दोलनको नेतृत्व राप्रपाले गर्नेछ ।’-फाइल तस्बिर