इलाम, मंसिर २२ । चिया क्षेत्रमा पछिल्लो समय एकपछि अर्को उपलब्धि हासिल भएको छ । प्रायः अन्तरद्वन्द्व परिरहने चियामा पछिल्ला उपलब्धिलाई सुधारको सङ्केतका रूपमा हेरिएको छ । कोरोना महामारीले विश्व बजारमा सङ्कटमा परेको छ तर चियामा भने असर पर्नुको सट्टा उपलब्धि हासिल भएको छ ।
तीन महिनाअघि चियाको व्यापार चिह्न उद्योगलाई हस्तान्तरण गरियो । लोगो पाएपछि चियामा आशा पलाएको बताएका उद्योगी भारत र अमेरिकाले सो लोगो स्वीकृति जनाएपछि अझै खुशी देखिएका छन् । नेपाली चियालाई विश्व बजारमा चिनाउन लोगो निर्माण गरिएको हो । लोगो निर्माणपछि भारत, अमेरिका र युरोपियन युनियन (इयु)मा दर्ता गरियो ।
भर्खरै दुई देशले लोगो स्वीकृति दिएपछि अब नेपाली अर्गानिक (जैविक) चिया आफ्नै ब्राण्ड भएर बजार पुग्ने भएको छ । “लोगोका लागि धेरै रस्साकस्सी गरियो तर पछिल्लो समय आशा पलाएको छ”, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रवीन राईले भन्नुभयो । उद्योगले आफ्नै उद्योगको लोगो लगाएर अन्तर्राष्ट्रिय बजारमा चिया पठाउँथे ।
अर्थोडक्स चियालाई एउटै लोगो लगाएर पठाउन उद्योगीकै अगुवाइमा व्यापार चिह्न बनाइयो । अहिले लोगो स्वीकृतिपछि नेपालको चिया विश्व बजारमा चिन्ने चिनिने भएको आजको गोरखापत्र दैनिकमा खवर छ ।