काठमाडौं, मंसिर २२ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी समिति बैठकमा आफू उपस्थित हुन नसक्ने पत्र पठाएका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा छलफल हुने गरी बैठकमा उपस्थित हुन असमर्थ रहेको भन्दै प्रधानमन्त्री ओलीले स्थायी समिति सदस्यहरूलाई सम्बोधन गरेका छन्।
ओलीको अनुपस्थितिबीच आइतबार बसेको स्थायी समिति बैठकमा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले उक्त पत्र वाचन गरेर सुनाएका थिए। ओलीले आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुर्याएको त्यस्तो संगीन आरोपपत्रबारे हुने छलफलमा सहभागी हुन असमर्थ रहेको स्पष्ट पारेका छन्।
तर,अर्का अध्यक्ष पुष्पकमल दाहाललेआरोपरप्रत्यारोपको फायर पहिले प्रधानमन्त्रीले खोलेको भन्दै त्यसबारे पार्टी कमिटीमा छलफल गरेरै एउटा सार्थक निष्कर्ष खोजी गर्नुपर्ने बताएका छन्। ‘यो मैले ल्याएको नितान्त राजनीतिक प्रस्ताव हो। यसलाई कसैले स्वीकार गरे पनि, नगरे पनि यो दस्ताबेज भइसक्यो अब। यसमै छलफल गरेर अब हामीले समाधानको खोजी गर्नुपर्छ। मैले मेरो प्रस्ताव ठीक र उहाँको बेठीक भनेको छैन। दुवै जनाको प्रस्तावमा छलफल गरौं।
छलफलबाट योभन्दा अझ उच्चस्तरको राजनीतिक प्रतिवेदन तयार पारेर जान पनि सकिन्छ’, दाहालको भनाइ उद्धृत गर्दै स्थायी समितिका एक सदस्यले भने, ‘अब प्रस्ताव फिर्ता लिऔं भनेर मात्र हुन्छ? दुइटा अध्यक्ष मात्र मिलाएर मिल्ने विषय अब यो रहेन। मेरो प्रस्तावमा सैद्धान्तिक राजनीतिक विषय मात्र छन्।
तर, प्रधानमन्त्रीले ३८ पृष्ठको आफ्नो प्रस्ताव ल्याउनुभयो। तर, त्यहाँ उहाँले पार्टी एकताभन्दा पहिलाका विषय पनि सबै समेटेर ३८ पृष्ठको प्रस्ताव भनेर ल्याउनुभयो। म त्यसको ३८ बुँदामा जवाफ दिन तयार नै छु। तर्कसंगत ढंगले यसलाई विस्थापन गर्न सकिएला तर फिर्ता हुँदैन।’ अन्नपूर्ण पोस्ट् दैनिकबाट