Logo

सर्वदलीय बैठकः गणतन्त्र रक्षार्थ एकजुट हुने आग्रह देखि राजसंस्थालाई ‘राष्ट्रिय एकताको सूत्र’ बनाउनेसम्मको प्रस्ताव



काठमाडौं, २३ मंसिर । सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सकिएको छ । तीन घन्टा चलेको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेर शुरु भएकोमा अन्य दलका नेताहरुले बोलेपछि उनैले संक्षिप्त बोलेर सम्पन्न भएको हो ।

बैठकमा प्रधानमन्त्री ओलीले देशमा राजनीतिक अस्थिरता र परिवर्तन माँस्न खोजिएकाले एकजुट भएर बढ्न आग्रह गरेका थिए । उनले बोलेपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरुले बोलेका थिए । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको लोकतन्त्रप्रतिको प्रतिवद्धतामाथि आशंका व्यक्त गर्दै आफूमाथि तनहुँमा भएको दुव्र्यवहारको जवाफ मागेका थिए । लोकतन्त्रका लागि आफूले लामो समय लडेको र जेल गएको स्मरण गराउँदै अहिले आएर आफूलाई पक्राऊ गर्ने कार्य भएको भन्दै सरकारले मुठभेडको अवस्था बनाइरहेको आरोप लगाए ।

काँग्रेस महामन्त्री विमलेन्द्र निधिले पनि सरकारको आलोचना गरे । सत्तारुढ दल नेकपा घरझगडामा अल्झिएको र सरकारले गर्नुपर्ने कार्य नगर्दा गणतन्त्र नै खतरामा पार्ने काम भएको आरोप लगाए । उनले सरकारलाई सच्चिन भने । काँग्रेस आन्दोलनमा जाने चेतावनी दिदै सरकारको कार्यशैलीका कारण राजनीतिक प्रणालीमाथि प्रहार भएको बताए ।

काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पनि सरकारको कार्यशैली ठिक नभएकोले जनतामा वितृष्णा बढ्न गएको सुनाए । कोरोना महामारीमा सरकारको गलत कार्यले जनता आक्रोशित भएको सुनाए । अहिलेको परिस्थिति आउनुमा सरकार जिम्मेवार भएको उनको भनाई थियो ।

राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि सरकारको आलोचना गरे । उनले गणतन्त्र र संघीयता नै धरापमा पार्ने गतिविधिहरु भइरहेको बताए । सरकारको कार्यशैली गणतन्त्र सखाप पार्नेतर्फ केन्द्रित हुनथालेको उनको आरोप थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिपक बोहराले देशमा राजसंस्थाको आवश्यकता अनिवार्य भइसकेको तर्क गरे । उनले राजसंस्थालाई राष्ट्रिय एकताको सूत्र बनाउने गरी साझा सहमति बनाउन प्रस्ताव गरे । देशमा राजसंस्था र हिन्दुराष्ट्रको माग भइरहेको र त्यसलाई कसैले रोक्न नसक्ने उनको दाबी थियो । राष्ट्रपति कुनै एक दलको जस्तो भएको र राजा भएमा त्यस्तो अवस्था नआउने उनको तर्क थियो ।

बैठकको अन्तमा प्रधानमन्त्री ओलीले कमी कमजोरीलाई सच्याएर अगाडि बढ्नुपर्ने भन्दै सबैलाई एकजुट हुन आग्रह गरे । देश कोरोना महामारीमा भएकाले सबै एकजुट हुनुपर्नेमा उनको जोड थियो । महामारीको बेलामा अस्थिरता मच्चाउन खोज्नेहरु सक्रिय हुनखोजेको भन्दै मिलेर सामना गर्नुको विकल्प नभएको बताए । उनले आलोचनाहरु सुनेर अगाडि बढ्ने बताए ।



प्रतिक्रिया दिनुहोस्