Logo

काललाई जितेर रियान मुस्कुराउनथाले



दीपेश केसीः रियान मुस्कुराएका छन् । उनी सगरमाथाको उचाई बढेकाले खुशी भयौं भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीले मुस्कुराएका होइनन् । देश विदेशमा दुईपटक मृगौला प्रत्यारोपण गरेर खर्चिलो स्वास्थ्योपचार गरेका ओलीलाई रियान जस्ता विपन्न आर्थिक अवस्थाका बालबालिकाको परिवारको कथा व्यथा के थाहा ? महङ्गो स्वास्थ्योपचार गर या मर भन्ने स्वास्थ्य क्षेत्रको क्रुरताको पनि उनलाई के वास्ता ? सबैले खाएपछि खाने राजा महीन्द्र मल्ल कुनै युगमा थिए त्यो त इतिहास बनिसकेको छ । सबैले उपचार पाउन् र स्वस्थ र सक्षम भई लामो जीवनयापन गरुन् भन्ने कामना बोकेर कर्म गर्ने शासक त सायदै जन्मिएलान् । त्यसैले रियान जस्ता बालबालिका अस्पतालमा पुगेमा दयालु पात्रहरु भेटिएमा मात्र बच्न सक्छन् नत्र उपचार पाउँदैनन् ।

पंक्तिकारले अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा आमाको उपचारका क्रममा कञ्चनपुर कृष्णपुर नगरपालिका ९ राजघाटबाट जटिल अवस्थामा उपचारका लाग ल्याइएका रियान महराको आमाको पीडा नजिकबाट देख्यो । कोभिड १९ को भ्यान्टिलेटरमा मृत्युसँग जुधिरहेकी आमालाई सकुशल फर्काउन सक्दो उपाय अपनाएर खटिइरहँदा अर्की आमाको पीडा दख्यो। सायद मेरी आमा हुँदी हुन् त मलाई पनि यसरी नै बचाउन लाग्थिन् होला । आइसियुको विरामी कुर्ने हलमा देखिएकी रियानकी आमा दिपिका रोकाया र बाबु टेकबहादुर महरा त्यो रात निकै छटपटिए । भोलिपल्ट अप्रेशन रहेछ रियानको । त्यो दोस्रो अप्रेशन थियो । तर, दिपिकासँग पैसा थिएन । उनी फोनमा झुण्डदै इष्टमित्रसँग दयाको भीक माग्दैथिइन् । आँसुको भेल छुटाउँदैथिइन् । जब औषधी किन्ने पसलमा उनी पुगिन् र भोलि जसरी पनि पैसा दिन्छु भन्दै विलौना गर्न थालिन् तब पंक्तिकार मुकदर्शक बन्न सकेन । सोधें– ‘कति चाहिन्छ अप्रेशन खर्च ?’ उनले जवाफ दिइन् । भनिन्–’अब यो कानको सानो रिङ बाँकी छ, छोराभन्दा यो ठुलो हुन्न ।’ ‘नआत्तिऊ म प्रयास गरौंला खर्च जुटाउन’–पंक्तिकारले भन्यो । उनी आश गर्नु भरोसा नगर्नु भनेजसरी फर्किइन् ।

त्यो रात रियानकी आमा निकै छटपटाइन् । विहान चार नबज्दै उनी फोनमा इष्टमित्रसँग रोइकराइ गरी रकम पठाइदिन विन्ति गर्दैथिइन् । विहानै अप्रेशनका लागि औषधीसहितको आवश्यक सामान र डिपोजिट राख्नुपर्ने थियो । पंक्तिकारले फेरि भ्यान्टिलेटरमा रहेकी आमालाई सम्झियो । वास्तवमा आमाको प्रेममा कुनै स्वार्थ हुन्नँ भन्ने रियानकी आमाको छोराको अप्रेशनका लागि आवश्यक रकम जुटाउने रातभरको प्रयासबाट बुझ्न सकिन्थ्यो । अघिल्लो रात पंक्तिकारले रकम जुटाउने बोलेको थियो । आफूसँग भएको केही रकम तयार गरियो । त्यसपछि सहयोगी हातहरुको याद आयो । दिनदुःखीलाई पर्दा सयोग गर्ने रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला कोरोना संक्रमणले घरमै आइशोलेशनमा । त्यसपछि अरु नामहरु सम्झन थालेँ । दिनदुःखीलाई पर्दा अगाडि सरिहाल्ने शोभा पाठक अघिल्लो दिनमात्र कोरोनामुक्त भएको खबर थाहाभएको थियो । उनलाई पाँच बजे नै फोन गरेर रियानको अप्रेशन रोकिनलागेको खबर गरेँ । उनले आवश्यक रकम लिएर आउँछु भनिहालिन् । शोभा त्यसै दिन आइन् पनि । रियानको अप्रेशन अगाडि बढ्ने भयो ।

रिपोर्टर्स नेपाल डट कममा समाचार दिएपछि सहयोगी हातहरु बढ्न थाले । समाचारको प्रभाव देखियो । आवश्यक रगत दान गर्न आएका काठमाडौंका उत्सव रायमाझीले आर्थिक सहयोग पनि गरेर गए । लाग्यो देशमा दयालु मनहरु अझै यत्रतत्र छन् । विरामी हजुरबुवालाई अस्पतालमा भेट्न आएकी सिन्धुपाल्चोककी विमला लामिछानेले पनि सहयोग रकम दिइन् । उनी आफै भुकम्पपीडित रहिछिन् । भुकम्पका बेलामा आमाबाबु गुमाएकी । तैपनि, सहयोग गर्नलाई मन चाहिने रहेछ । किशोर खड्काले फेसबुकमा जानकारी पाएर सहयोग गरे । कोभिड आइसियूमा पिताको उपचार सकेर घर फर्किएका महेश भण्डारीले बैंकमार्फत् रकम सहयोग गरे । समाजसेवी राजकुमार केसी रियानको परिवारलाई खोज्दै अस्पताल आइपुगे । बाबुलाई कोभिड भ्यान्टिलेटरमा राखेका सिन्धुपाल्चोकका बिमल खड्का हुन् या आमालाई कोभिड आइसियूमा राखेकी कमला कार्की नै किन नहुन् सहयोगी हातहरु आइपुगे । आफै दुःखमा रहेपनि उनीहरुले सहयोगका लागि हात रोकेनन् । नेपाल मेडिकल कलेजका नर्स, डाक्टर देखि कर्मचारीसम्मले आर्थिक सहयोग गरे ।

सबैको सहयोग, माया र सद्भावले रियानको तीन चरणको शल्यक्रिया सफलताका साथ सम्पन्न भयो । उनलाई सहयोगका लागि शोभा फेरि फेरि अस्पताल पुगिन् । आमा दिपिका र बाबु टेकबहादुर जाडोले कठ्याङ्ग्रिन थालिसकेका थिए । कपडा पनि लिएर पुगिन् । ४० दिन भएछ रियानको उपचारका लागि आमाबाबु अस्पतालमा बसेका । आइसियु वार्डबाट रियान जनरल वार्डमा सारिए । रियानकी आमाले आज पंक्तिकारलाई सुनाइन्, ‘बाबु त मुस्कुराउन थाल्यो !’ रियान मुस्कुराएछन् ! सुन्न पाउँदा मन नै प्रफुल्लित भएको छ ।

रियानका लागि सहयोग शुरु गर्दाको विहानी पंक्तिकारलाई यादगार छ । सहयोगको शुरुवातसँगै भेन्टिलेटरबाट आमालाई निकालियो । मृत्युमाथि जित भयो आमाको त्यही दिन । कोभिड भ्यान्टिलेटर वार्डका सुरक्षाकर्मीले ठट्टामा भनेका थिए, रियानको अप्रेशनका लागि के रकम जुटाइदिनुभएको थियो आमाले त भ्यान्टिलेटरको पाइप आफै फाल्नुभयो । संयोग हो या के हो रियानलाई सहयोग गर्नेहरुका विरामी धमाधम उठे । रियान जसरी नै उनीहरु मुस्कुराउने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्