मंसिर २५, काठमाण्डौ । काठमाडौँको ऐतिहासिक सांस्कृतिक क्षेत्र मालीगाँउमा रहेको ऐतिहासिक ‘मैती अजिमा शरण’ (ध्येः छेंः) को पुनर्निर्माणका लागि शिलान्यास गरिएको छ । काठमाडौँ–५ मालीगाउँमा रहेको ऐतिहासिक ध्येः छेंः को काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका हुन् । नेकपा केन्द्रीय सदस्य तथा सोही क्षेत्रका प्रदेश सांसद नारायण सिलवालको पहलमा सोही ध्येः छेंः पुनर्निर्माण हुन लागेको हो । ध्येः छेंः भनेको नेवारी भाषा हो । यसको नेपाली रूपान्तरण ‘देउता राख्ने घर’ भन्ने हुन्छ ।
ध्येः छेंः मा काठमाडौँ महानगरपालिका वडा नंवर ३१ म रहेको मैतीदेवी मन्दिरको खट तथा देउता राख्दै आइएको छ । मैतीदेवी मन्दिर, गोरखाको प्रसिद्ध मनकामना माई देवीको दिदीको रूपमा लिइन्छ । विभिन्न जात्रा तथा पर्वको अवसरमा मैतीदेवी मन्दिरमा लगिने तथा विभिन्न स्थान घुमाइने खट तथा देउता राख्न मालिगाँउ स्थित यसै द्धे छेंः मा राखिन्छ । पछिल्लो समय जीर्ण रहेको सो ‘द्धे छेंः भत्काएर नयाँ स्वरूपमा पुनर्निर्माण गरिन लागिएको हो ।
शिलान्यास कार्यक्रममा मेयरसँगै, उपमेयर हरि प्रभा खड्की, प्रदेश सांसद सिलवाल, संविधानसभा सदस्य रत्न गुरुङ, वडा नम्बर ५ का अध्यक्ष रमेश डङ्गोल, नेकपाका स्थानीय नेता तथा ‘द्धे छेंः निर्माण उपभोक्ता समिति अध्यक्ष रमेशमान मुनिकार, सल्लाहकार समेत रहेका नेकपाका स्थानीय नेता वीरेन्द्र प्रजापति र गणेश श्रेष्ठलगायतको उपस्थिति थियो ।
‘द्धे छेंः मा पुनर्निर्माणका लागि अनुमानित कुल लागत २ करोड ६ लाख रुपैयाँमा लाग्ने जनाइएको छ । पुनर्निर्माणको लागि अहिलेको लागी १ करोड रुपैयाँ छुट्टाएको छ । अर्को आर्थिक वर्षमा फेरि रकम छुट्टाइने प्रदेश सांसद सिलावालले बताए ।
काठमाडौँ उपत्यकामा साँखुपछि दोस्रो पुरानो बस्तीका रूपमा रहेको हाँडीगाउँ क्षेत्रमा पुराना मठ, मन्दिर, जात्रा तथा पर्वहरू रहेको भन्दै तिनको संरक्षण तथा प्रवर्द्धन गर्नु आफ्नो दायित्व रहेको प्रदेश सांसद सिलवालले धारणा राखे ।