Logo

विवाह पञ्चमीको चहलपहल छैन, जन्ती पठाउने विषयमा अयोध्याबाट खबर आएन



मंसिर २६, काठमाण्डौ । जनकपुरस्थित जानकी मन्दिरमा प्रत्येक वर्ष विवाह पञ्चमीको दुई साताअघिदेखि नै चहलपहल शुरु हुन्थ्यो । तर यस वर्ष विवाह पञ्चमी आउन एक साता बाँकी रहँदा समेत कुनै रौनक देखिएको छैन । विवाह पञ्चमीमा भारतबाट जन्तीसमेत नआउने भएका छन् ।

परापूर्वकाल देखि चलिआएको विवाह पञ्चमी यसपालि कोरोना भाइरसको जोखिमलाई मध्येनजर गर्दै परमपरागत हिसाबले मात्र मनाईने भएको छ । प्रत्येक वर्ष विवाह पञ्चमीको दुई साताअघिदेखि नै चहलपहल शुरु हुनेमा यस वर्ष विवाह पञ्चमी आउन एक साता बाँकी रहँदा समेत कुनै रौनक देखिएको छैन । यस पटक विवाह पञ्चमी पुस ४ गते शनिबार परेको छ । वर्षौंदेखि चल्दै आएको परम्परालाई यस वर्ष सीमित रुपमा मनाइने जनकपुरस्थीत जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैश्णवले बताए ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैश्णव

यस पटक विवाह पञ्चमीलाई सीमित रुपमा मनाउन सप्ताहव्यापी कार्यक्रम घोषणा गरिएको छ । मंसिर २९ गते जनकपुरधाम नगर दर्शन, ३० गते फूलबारी लिला, पुस १ गते धनुष यज्ञ, पुस २ गते तिलकोत्सव, ३ गते मटकोर, ४ गते शुभ विवाह र ५ गते रामकलेबा विधि गरिनेछ ।

यस पटकको विवाह पञ्चमीमा भारतबाट जन्तीसमेत नआउने जानकी मन्दिरका महन्थ वैष्णवले वताएका छन । जन्ती आउने सम्बन्धमा यसअघिका वर्षहरुमा पहिला नै जानकारी आउने गरिन्थ्यो तर यस पटक भारतको अयोध्याबाट कुनै खबर नआएको वैश्णवले जानकारी दिए ।

प्रचार प्रसार नगरिएपनि विवाह पंचमीमा लाखौ श्रद्धालु जमघट हुने र कोरोना भाइरसको पनि जोखिम हुने भएको तथा असुरक्षाको वातावरण पनि सृजना हुने भएकोले यसको समन्वय गर्नका लागि सुरक्षा निकायलाई अनुरोध गरिएको समेत महन्थ वैष्णवले बताए ।

भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष विवाह पञ्चमी मनाउने गरिन्छ । राजर्षि जनक,जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनी मार्ग महिनाको शुक्ल पक्ष पञ्चमी तिथिमा राम जानकी विवाहपञ्चमी मेला लाग्छ । सीतोपाख्यान उत्तरार्द्धमा सीता स्वयम्बरका बारेमा उल्लेख भए अनुसार आश्विन पूर्णिमाका दिन अयोध्या नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा श्री राम जानकीको शुभविवाह भएको प्रसङ्ग उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्