एजेन्सी, २७ मंसिर । कोरोना भाइरसविरुद्धको अक्सफोर्ड र स्पुतनिक भ्याक्सिन मिसाउँदा प्रभावकारी हुने सम्भावना बलियो देखिएको छ । त्यसबारे परीक्षण शुरु भएको छ ।
बेलायतको अक्सफोर्ड र रुसको गेमिलियाले विकास गरेको भ्याक्सिनले रोग प्रतिरोधात्मक क्षमता अझ बढाउने सम्भावनाका आधारमा मिसाएर परीक्षण शुरु हुनथालेको हो । दुवै भ्याक्सिन भण्डारण गर्न सहज र सुरक्षित रहेको प्रमाणित भइसकेको छ ।
अब दुवै भ्याक्सिन मिसाएर प्रभावकारी भ्याक्सिन बनाउने प्रयास भएको छ । यसो गर्दा अझ प्रभावकारी हुने र रोगप्रतिरोधात्मक क्षमता लामो समयसम्म रहने सम्भावना रहने बताइएको छ ।
अक्सफोर्ड र स्पुतनिक भ्याक्सिन समान मानिएको छ । दुवैमा जेनेटिक तत्व सार्स कोभ २ स्पाइक प्रोटिन समावेश गरेका छन् ।