Logo

भोली स्थायी कमिटी बैठक : ओलीको उपस्थिती अनिश्चित, प्रचण्डले दिए यस्तो सन्देश



मंसिर २७, काठमाण्डौ । सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक भोलि बस्दैछ । दुवै अध्यक्षका फरक–फरक प्रतिवेदन र आपसमा आदानप्रदान भएका चिठीपत्र सदस्यहरुलाई बाँडिसकिएकाले ती उपर भोलिबाट छलफल हुने जनाइएको छ । बैठकअघि सहमतिका लागि गरिएका अनौपचारिक प्रयासहरु असफल भएका छन् । जसले गर्दा यसअघिको बैठक बहिष्कार गरेका अध्यक्ष केपी ओली उपस्थित हुने निश्चित छैन

आइतबारको बैठकअघि शनिवार पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आफू निकट नेताहरुसंग परामर्श गरे । यो बिचमा दुवै अध्यक्षबीच छलफल भएपनि समाधानमुखी नभएपछि निराशा बढेको छ । यही बैठकबाट प्रधानमन्त्री ओलीको जिम्मेवारी खुम्च्याउने र उक्त निर्णयलाई केन्द्रीय कमिटीमा पेस गर्ने तयारी दाहाल–नेपाल पक्षको छ । ओलीले यसलाई सजिलै स्वीकार गर्ने देखिँदैन ।

बैठकको अघिल्लो दिन कार्यकारी अध्यक्ष दाहालले पार्टीभित्रको बहस बिधी र पद्धतीका लागिमात्र भएको बताएका छन् । पार्टी कार्यालय धुम्वाराहीमा आयोजित एक कार्यक्रममा दाहालले अवको समाजवादको यात्रामा अघि बढ्न सन्दर्भमा कस्तो आर्थिक नीति हुने, कस्तो राजनीतिक मान्यताहरुलाई अवलम्वन गर्दै जाने र कस्तो आचारसंहितालाई पालन गर्ने भन्ने बहसमात्र भएको बताए । बिधी बिधान र पद्धतीलाई स्थापीत गर्न पार्टी भित्र हुने बहस स्वभाविकमात्र भएको भन्दै दाहालले ओलीप्रति नरमपन देखाएका छन् ।

यता ओली निकट नेता तथा मन्त्रीहरुले भने देशी बिदेशी शक्तिले मुलुकलाई अस्थीरतातर्फ धकेल्न खोज्ने प्रयत्न गरेको आरोप लगाएका छन् । सत्तापक्षभित्रै प्रतिपक्षी जन्मिएर राजनीतिभित्रको संक्रमणमा चलखेल गर्न खोजेको संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ बताउँछन् ।

मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली उपस्थित भएनन् । पत्र पठाएर बैठकको औचित्य नरहेको अडान लिएका थिए । अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदन आफूविरुद्धको आरोपपत्र मात्रै भएको प्रतिक्रिया दिएका ओली उक्त प्रतिवेदन फिर्ता लिनुपर्ने अडानमा छन् । तर दाहालको मात्र नभै ओलीकोसमेत प्रतिवेदन स्थायी कमिटीमा पेश भइसकेको छ । त्यही प्रतिवेदनमाथि छलफल गर्न भोलि स्थायी कमिटीको बैठक बस्दैछ ।



प्रतिक्रिया दिनुहोस्