Logo

पाशुपत क्षेत्रमा शतबीज छर्नेको घुईँचो (फोटोफिचर)



काठमाडौं, २८ मंसिर । आज बिहानै पाशुपत क्षेत्रमा शतबीज छर्नेको घुईंचो लागेको छ । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जनाएअनुसार शतबीज छर्नेको घुईँचो लागेको छ । यद्धपी सरकार र पशुपति क्षेत्र विकास कोषले रोक लगाएको थियो । यद्यपि, कोषले भने पशुपतिनाथको ढोका भने बन्द गरेको थियो । पशुपति मन्दिर भित्र प्रवेश नपाए पनि धर्मावलम्बीहरुले मन्दिर बाहिरबाटै शतबीज छर्दै हिंडेका थिए ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन झिसमिसे बिहानै शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व मनाइने प्रचलन रहेको छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेकामा यसवर्ष पशुपतिनाथमा मेला नलाग्ने पशुपति क्षेत्र विकास कोषले जनाए पनि ठूलो संख्यामा भक्तजन पुगेका हुन् । बाला चतुर्दशीमा लाखौँ भक्तजन पशुपतिमा आउने गरेकाले कोरोना फैलने डरले यसवर्ष दीपदान नगर्न अनुरोध गरिएको कोषले जनाएको थियो ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउने परम्परा रहेको छ । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भने भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउने गर्दथे । शतबीज भनिए पनि हाल सप्तबीज ९धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो० छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार धानका सय गेडा चढाउनुपर्ने अरु अन्न होइन भन्छन् । ‘भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ’ उनले बताए।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्