काठमाडौं, २८ मंसिर । नेकपाका नेता कमानसिंह लामाको मृत्यु भएको विषय छानविन गर्न र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पदबाट हटाउन आज काठमाडौंमा प्रदर्शन भएको छ । सो प्रदर्शनलाई ध्यानमा राखेर नेकपा स्थायी समितिको बैठक कमानसिंहलाई समवेदना प्रकट गरेर सकिएको छ ।
स्वर्गीय लामा काभ्रे जिल्लाका थिए । काभ्रेका जनताको तर्फबाट आज प्रदर्शन गरिएको हो । नेकपाको स्थायी समिति बैठक बसेको ठाउँ प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा काभ्रेली जनताले ‘कमानसिंहको आत्मालाई न्याय देउ’ भन्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा काभ्रेली युवाहरुले विभिन्न किसिमका प्लेकार्डहरु बोकेका थिए । उनीहरुले नारायणकाजी श्रेष्ठ र उहाँकी अति निकट महिला सुसन कर्माचार्यलाई गिरफ्तार गर्नुपर्ने भन्दै नारा पनि लगाएका थिए ।
कमानसिंह लामाको गत बुधबार राति काठमाडौंको एक अस्पतालमा मृत्यु भएको थियो । मृत्यु हुनु अघि कमानसिंहले नारायणकाजी श्रेष्ठले आफ्नो जिन्दगी खराब गरिदिएको, ऋणमा डुबाइदिएको तथा बर्बाद बनाइदिएको भनेर फेसबुकमा लेखेका थिए ।
नारायणकाजी र उनकी निकट सुसनले आफ्नो अढाई करोड रुपैयाँ खाइदिएको, परिवार बिगारिदिएको भनी कमानसिंहले फेसबुकमा लेखेर खुलासा गरेका थिए । याम्बालिङ हाइड्रोको शेयरको विषयमा उनीहरुको लेनदेन विवाद रहेको थियो । त्यो लेनदेन विवादको विषयमा कमानसिंह र नारायणकाजीबीच भएको कुराकानीको भिडियो पनि सार्वजनिक भएको छ ।
प्रदर्शनकारीहरुले नारायणकाजी र सुसन कर्माचार्यको सम्पत्ति छानविन गर्न पनि माग गरेका छन् । उनीहरुले ‘हेल्लो नारायणकाजी, एउटा झुठ छोप्न सयवटा झुठ नबोल्नुस्’ भन्दै नारा लगाएका थिए । अमित लामा लगायतका युवा नेताहरुको अगुवाईमा भएको प्रदर्शननारावाजी भएको ठाउँमा नेकपाका केही नेताहरु पुगेर ऐक्यवबद्धता प्रकट गरेका थिए ।
प्रदर्शनकारीहरुले हाँडीघोप्टे र उनको पिएको सम्पत्ति छानविन गर भन्दै पनि नारा लगाएका थिए । प्रदर्शनकारीहरुले ‘नारायणकाजीलाई पदबाट हटाइयोस्, अरुको सुखी दाम्पत्य जीवन जोगाइयोस्’ भन्ने प्लेकार्ड समेत बोकेका थिए । उनीहरुले नारायणकाजीले अहिलेसम्म ककसलाई विदेश पठाए भन्ने छानविन गरी तिनको दाम्पत्य जीवनको अवस्था बारे बुझियोस् भन्ने माग राखेका छन् ।
प्रदर्शनकारीहरुले नारायणकाजी श्रेष्ठले राजीनामा नदिएसम्म र छानविनको प्रकृया सुरु नगरेसम्म आन्दोलन जारी राख्ने घोषणा गरेका छन् ।-दृष्टिबाट/File Photo