काठमाडौं, २८ मंसिर । मोरङमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पहिलोपटक व्यक्ति हत्या गरेको छ । त्यो पनि स्थानीय शिक्षकको । सामान्य जीविकोपार्जन गर्दै आएका शिक्षकको हत्याप्रति राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा ध्यानाकर्षण र गम्भीर आपत्ती सुनिन थालेको छ ।
मिक्लाजुङका शिक्षक श्रेष्ठको हत्याले विप्लव समूह बदनाम भएको छ । यो घटनाप्रति उक्त पार्टीमा समेत खैलाबैला भएको बुझिएको छ । घटनाको बचाऊ गर्न विप्लव समूहले छाडेको छैन ।
विप्लव समूहले शिक्षक राजेन्द्र श्रेष्ठमाथि सुराकीको आरोप लगाएको छ । उनले प्रहरी बोलाएर दमन गराएको आरोप छ ।
विप्लव समूहको मेची कोशी ब्यूरोले विज्ञप्तिमार्फत् घटनाको दिन उनलाई सम्झाउन गएको दाबी गरेको छ । ‘सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा मृत्यु हुन गएको जानकारी गराइन्छ,’ मेची कोशी ब्यूरोका प्रतिकले विज्ञप्तिमार्फत् भनेका छन् ।
२६ फागुन २०७६ मा मेची कोसी ब्युरोको बैठकमा प्रहरी बोलाएर दमन गराएको, १२ कात्तिक २०७७ मा ब्युरो इन्चार्ज बसेको स्थानमा प्रहरी अप्रेसन गराई काशिराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएको र एक लाख लुट्न लगाएको समेत विप्लवको आरोप छ ।
तर, मृतक शिक्षक राजेन्द्र श्रेष्ठको परिवारले विप्लव समूहले हैरानी पारेको बताइसकेका छन् । श्रेष्ठको २३ मंसिरमा अपहरणपछि घाँटी रेटी हत्या भएको थियो । बर्खे गाउँको जङ्गलमा लगिएका उनको हाँत बाधिएको र घाँटी रेटिएको अवस्थामा शव फेला परेको थियो । शव फेला परेको ठाउँमा मडारिएको दृश्य समेत देखिएको थियो ।