पाँचथर, मंसिर २९ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राँके–रवि–भेडेटार सडक निर्माण कार्यलाई गति दिन तत्कालै उपयुक्त निर्णय लिइने बताएका छन् । निर्माण कार्यमा उल्लेख्य प्रगति नभएपछि आइतबार स्थलगत निरीक्षणमा आउनुभएका मन्त्री नेम्वाङले सडक निर्माणको कार्य अब अहिलेकै अवस्थामा रहन नसक्ने बताए ।
भारत सरकारको सहयोगमा निर्माणाधीन यो सडकको हालसम्म भौतिक प्रगति ४३ प्रतिशत हुनुपर्नेमा हालसम्म करीब १२ प्रतिशत मात्रै प्रगति देखिएपछि मन्त्री नेम्वाङले चाँडै उपयुक्त निर्णय लिइने बताएका हुन् । “परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग कुरा भइसकेकाले अब ठेक्का तोड्ने वा निश्चित समयमै ठोस प्रगति गर्न लगाउने विकल्प मात्रै बाँकी छन्”, स्थलगत निरीक्षणपछि पाँचथर–धनकुटा सीमावर्ती छनम्बर बुधबारे बजारमा आयोजित अन्तरक्रियामा मन्त्री नेम्वाङले भने, “जे गर्दा यो सडक निर्माण चाँडो पूरा हुन्छ, मन्त्रालयले सोहीअनुसारको निर्णय लिन्छ ।”
उक्त सडक निर्माणको ठेक्का पाएको भारतीय कम्पनी एप्कोका प्रतिनिधिको कुरा सुनेपछि मन्त्री नेम्वाङले निर्माण कम्पनीबाट समस्या सिर्जना गर्ने र दोषारोपण गर्ने काम भएको बताए । उनले स्थानीयवासीको सुझावका आधारमा निर्णय लिई सडक निर्माणलाई गति दिने दृढता व्यक्त गरे । “अहिलेकै गतिले यो सडक समयमा निर्माण पूरा भई जनताले सेवा लिन पाउने अवस्था बन्दैन, यही मन्त्रालयको निष्कर्ष हो ।” मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले समस्या सिर्जना गर्ने तर समाधान गरेर निर्माण कार्यलाई द्रूत पार्न नचाहने प्रवृत्तिले समस्या ल्याएको वताए ।
भारत सरकारको सहयोगमा निर्माणाधीन यो सडक निर्माण कार्यमा उल्लेख्य प्रगति हुन नसकेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री र सचिवको टोलीले स्थलगत निरीक्षण गरेको हो । मेची र कोशी राजमार्ग जोड्ने यो सडकको विसं २०७५ पुस २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । एक सय एक किलोमिटर लामो यो सडक निर्माणको हालसम्म ४३ प्रतिशत भौतिक प्रगति हुनुपर्नेमा करिब १२ प्रतिशत प्रगति देखिएपछि मन्त्रालयको टोली स्थलगत निरीक्षणमा आएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङ, मन्त्रालयका सचिव श्रेष्ठ, सडक विभागका महानिर्देशक केशवकुमार शर्मालगायतको टोलीले आइतबार यो सडकको चिसापानी पञ्चमीदेखि भेडेटारसम्म निर्माण अवस्थाको निरीक्षण गरेको छ । सरकारले विशेष चासोमा राख्दाराख्दै पनि निर्माण कार्यमा प्रगति नदेखिएपछि आगामी योजना तय गर्न मन्त्रालयको टोलीले स्थलगत निरीक्षण गरेको हो ।
टोलीले निर्माणको अवस्थाबारे स्थानीय जनप्रतिनिधि, स्थानीयवासी, निर्माण कम्पनी तथा राँके–रवि–भेडेटार सडक आयोजना कार्यालयसँग अन्तक्र्रिया गरेको हो । मन्त्री नेम्वाङले चिसापानी पञ्चमी, कन्याटार, छनम्बर बुधबारे, राजारानी र भेडेटारमा स्थानीयवासीसँग सडक निर्माणमा भएको ढिलासुस्तीबारे प्रत्यक्ष जानकारी लिएका छन् । यस्तै राँके–रवि–भेडेटार सडक आयोजना कार्यालयको आयोजनामा पाँचथर–धनकुटा सीमावर्ती छनम्बर बुधबारेमा सर्वपक्षीय अन्तरक्रियासमेत सम्पन्न भएको छ । अन्तक्र्रियामा सहभागी जनप्रतिनिधि तथा स्थानीयवासीले ठेक्का तोडेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । रासस