काठमाडौं, २९ मंसिर । देशमा सडक प्रदर्शनको माहोल तात्तिदै गएको छ । एकपछि अर्को समूह देखि राजनीतिक दल समेत सडक प्रदर्शनमा ओर्लिन थालेका छन् ।
आज नेपाली काँग्रेसले ७७ जिल्लामा प्रदर्शन र सभा आयोजना गरिरहेको छ । उसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सर्वसत्तावादी भन्दै प्रदर्शन गरेको हो । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनकै गृहजिल्लाको पुल उदघाटनमा रोकी नियन्त्रणमा लिएपछि बढेको आक्रोश प्रदर्शनसम्म पुगेको हो । तर, काँग्रेसले विरोध प्रदर्शनलाई निरन्तरता दिनेबारे केही बोलेको छेन ।
राजावादीहरु सडक प्रदर्शन गर्दै आएका छन् । विभिन्न संस्था र समूहका नाममा उनीहरु शहरी क्षेत्रमा सक्रिय छन् । विगतमा पूर्वको झापा देखि पश्चिमको कञ्चनपुर हुँदै मुख्य शहरहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्जलगायतमा प्रदर्शन गर्दै आएका थिए । पछिल्लो समय राजधानीमा राजावादी केन्द्रित हुँदै प्रदर्शन गर्दै आएका छन् । उनीहरुले राजसंस्था र हिन्दुराष्ट्रको माग राखेका छन् ।
उखु किसानहरु फेरि आन्दोलिन भएका छन् । विगतमा सरकारसँग भएको सम्झौता कार्यान्वयन नहुँदा उखु विक्री गर्दाको रकम भुक्तानी नपाएको भन्दै आन्दोलित भएका हुन् । किसानहरु माइतीघरमा जुलुस गर्दै पैसा नपाएसम्म नफर्कने अडान राख्न थालेका छन् ।
सडक प्रदर्शनका माहोल तात्तिदै जाँदा सरकार भने संयम भएको छ । उसले बल प्रयोग गरेको छैन । बल प्रयोगले स्थिति थप उत्तेजित हुने देखेर सरकार संयमित भएको हुनसक्छ । कोरोना भाइरसको जोखिम रहेको भन्दै गृह प्रशासनले प्रदर्शन तथा जमघट नगर्न सूचना नै जारी गरेको छ । उसले स्वास्थ्य जोखिमका बखत प्रदर्शन तथा ठुला जमघट गरे कारबाही गर्ने चेतावनी दिएको छ । चेतावनीका बाबजुद प्रदर्शन, भेला र जुलुसहरु बढ्दो छ । सरकारले भने प्रदर्शनलाई निगरानी मात्र गर्ने बल प्रयोग नगर्ने रणनीति लिएको छ ।