हेटौंडा, मंसिर ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अत्याचार र गैरजिम्मेवार क्रियाकलाप जारी राखेपछि सडकमा आउन बाध्य भएको बताएका छन् ।
सरकारविरुद्ध कांग्रेसले घोषणा गरेको हेटौंडा विरोधसभामा सभापति देउवाले ओली सरकारको गैरजिम्मेवारीपनका कारण राजा आऊ–देश बचाऊ भन्ने नारा लाग्ने स्थिति आएको बताए ।
‘मैले उबेला नै भनेको थिएँ कम्युनिस्टले जितेमा हाँस्न पनि पाइँदैन, दिल खोलेर रुन पनि पाइँदैन’, सभालाई सम्बोधन गर्दै देउवाले भने– ‘आज हेर्नुस् त वास्तवमा कम्युनिस्ट सरकारले एकदलीय शासनजस्तो गरिरहेको छ । जनता भोक र रोगले मरिरहँदा ओली भाषणमा सरकारको प्रगति देखेर अरु आत्तिए भन्दै बसेका छन् ।’
उनले कोरोना महामारीमा पनि भ्रष्टाचार गर्ने विश्वकै उदाहरण ओली सरकार भएको भन्दै ओली सरकार आएपछि भ्रष्टाचार, बलात्कार, हत्या र कुशासन चलिरहेको दाबी गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।