Logo

नेचासल्यानमा जिल्लामै पहिलो पटक किविका लागि कोल्ड स्टोर स्थापना



सोलुखुम्बु, २ पौष । सोलुखुम्बुमा उत्पादित किवि फलले बजार नपाईरहेका बेला नेचासल्यान गाउँपालिकाले जिल्लामै पहिलो पटक किवि भण्डारणका लागि चिस्यान केन्द्र(कोल्ड स्टोर) निर्माण गरेको छ । पालिकाका किवि कृषकहरुको समस्यालाई मध्यनजर गरि वडा नम्बर १ सल्यानमा ६ टन क्षमताको कोल्ड स्टोर निर्माण गरिएको हो ।

बजार नपाएको समयमा भण्डारण गरि बेमौसममा कृषकहरुले उत्पादनको मुल्य पाउन भन्ने लक्ष्यका साथ आधुनिक प्रविधिको विद्युतीय कोल्ड स्टोर निर्माण गरेको गाउँपालिका अध्यक्ष डुफकुमार बाँस्तोलाले जानकारी दिए । कुलबोट नेपालको प्राविधिक सहयोगमा करिब सवा ३ लाखको लागतमा निर्माण सम्पन्न कोल्ड स्टोरमा पालिका भरिका कृषकहरुले उत्पादन गरिएको किवि भण्डारण पछि बुधबार पालिका अध्यक्ष बाँस्तोलाले उद्घाटन गरे ।

उद्घाटन गर्दै अध्यक्ष बाँस्तोलाले कृषिको आधुनिककरण बाट मात्रै ग्रामिण सम्बृद्धि सम्भव भएकाले कृषि क्षेत्रलाई प्राथमिक्तामा राखेको बताए ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष रमेश कुमार राई, वडा नम्बर २ का अध्यक्ष भेषकुमार बाँस्तोला, कार्यपालिका सदस्य जसबहादुर राई लगायतको उपस्थित थियो । सो क्रममा अगुवा कृषकहरु प्रेमबहादुर राई, नानिबाबु कोईराला, सुजन राई लगायतले पालिकाले चिस्यान केन्द्र बनाएपछि उत्पादनले मुल्य पाउने सुनश्चित भएको प्रतिक्रिया दिएका छन् । यो बर्ष नेचासल्यान गाउँपालिकामा ४ टन भन्दा माथि किवि उत्पादन भएको छ । पछिल्लो ५ बर्ष यता खेति विस्तार गरिएको किवि फलले गत बर्ष देखि उत्पादन दिन शुरु गरेको हो । यो बर्ष कोभिड १९ को प्रभावका कारण पनि किविले बजार पाउन नसकेको हो ।



प्रतिक्रिया दिनुहोस्